काठमाडौं । नेपालको प्रादेशिक र स्थानीय सडक सुधार गर्नका लागि विश्व बैंकले नेपाल सरकारलाई एक सय मिलियन अमेरिकी डलर अर्थात १३ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सडक सञ्जालको व्यवस्थापन गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।
यससम्बन्धी सम्झौता पत्रमा दुई पक्षबीच सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत करिब १० लाख जनतालाई लाभान्वित हुने गरी करिब तीन सय किलोमिटर सडकको सुधार गरिने बताइएको छ ।
यस कार्यक्रमले ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारमा पहुँच सुधार गर्न र यात्रा समय र लागत घटाउँदै नेपालको आर्थिक सम्भावनालाई अघि बढाउन मद्दत गर्ने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए ।
तीन चरणअन्तर्गतको पहिलो कार्यक्रमले नेपालका सात प्रदेशमध्ये तीन र चार स्थानीय क्षेत्रलाई लक्षित गरी आगामी चरणमा विस्तार गरिने बताइएको छ । आयोजना प्रदेशका भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ ।