काठमाडौं । साउन ३२ गतेदेखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म परिमार्जित रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।
सोमबार वानेश्वरस्थित आइप्लेक्स महलमा कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । फिल्म परिमार्जित गरिएपछित्यही अनुसार नयाँ ट्रेलर सार्वजनिक गरिएको निर्माणपक्षको भनाइ छ ।
छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको जारी प्रथामा आधारित रहेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ।
पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो फिल्मले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् ।
स्व. मोती विष्टको प्रस्तुतिमा बनेको बुलाकीलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।
यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।