काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ट्रेलर हेरोसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताए । उनले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताएका छन् ।
उनले भने ‘कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ । कर्णालीको श्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’
कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने खड्काले बताए। उनले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताएका छन् ।
‘बुलाकी’ कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए । ‘यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु’, खड्काले भने । कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे ।
जारी प्रथामा आधारित रहेको लक्ष्मण सुनारको निर्देशित फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख भूमिकामा छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको फिल्ममा राजबहादुर सानेको कथा रहेको छ । स्व. मोती विष्टको प्रस्तुतिमा बनेको यस फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।