शेख हसिना : पिताबाट विरासतमा पाएको नेतृत्व आफ्नै कारण गुमाइन्-Sutra News

शेख हसिना : पिताबाट विरासतमा पाएको नेतृत्व आफ्नै कारण गुमाइन्

कस्तो रह्यो दुई दशकको सत्ता राजनीति ?

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हप्तौंदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएसँगै पदबाट राजीनामा दिँदै देश छाडेकी छिन् । रिपोर्टका अनुसार ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट भारतका लागि प्रस्थान गरेकी थिइन् । हसिनाले देश छाड्दै गर्दा हजारौं प्रदर्शनकारीले ढाकास्थित उनको सरकारी निवासलाई घेरा हालेका थिए ।



योसँगै बंगलादेशको सत्तामा लामो समय नेतृत्व गरेकी शेख हसिनाको शासनको पनि अन्त्य भएको छ । शेख हसिनाले बंगलादेशमा करिब २० वर्षसम्म बलियो पकडका साथ शासन गरेकी थिइन् ।

दक्षिण एसियाली देश बंगलादेशको आर्थिक प्रगतिको श्रेय शेख हसिनालाई दिइन्छ तर, पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाहीको आरोप लागेको थियो ।

कसरी आएकी थिइन् सत्तामा ?

सन् १९४७ मा पूर्वी बंगालको एक मुस्लिम परिवारमा जन्मिएकी शेख हसिनाले राजनीति विरासतमा पाएकी थिइन् । उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । उनलाई बंगलादेश राष्ट्रका संस्थापक र पिता मानिन्छ, उनकै नेतृत्वमा सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । देशको पहिलो राष्ट्रपति पनि शेख मुजिबुर रहमान नै थिए ।

पिताको प्रभाव उनी पनि विद्यार्थी नेताको रुपमा स्थापित भइसकेकी थिइन् । तत्कालिन समय ढाका विश्वविद्यालयमा हसिना स्थापित नेतृ थिइन् ।

सन् १९७५ मा सैनिक विद्रोहका क्रममा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए । उक्त घटनामा शेख हसिना र उनकी कान्छी बहिनी मात्र बचेका थिए । उनीहरू त्यतिबेला विदेश यात्रामा थिए ।

उक्त घटनापछि उनीहरुले भारतमा निर्वासित जीवन बिताए । हसिना सन् १९८१ मा बंगलादेश फर्किएकी थिइन् र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेतृत्व लिएकी थिइन् ।

उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडक प्रदर्शन छेडिन् । देशमा भएको विद्रोहले शेख हसिनालाई चाँडै राष्ट्रिय प्रतिमा बनायो ।

उनी पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । भारतसँग पानी सन्धि गर्ने र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गर्ने श्रेय उनलाई दिइन्छ ।

तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लागेको थियो ।

सोही आरोपको बिच पछि, २००१ को चुनावमा उनी प्रतिद्वन्द्वी, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का बेगम खालिदा जियासँग हारिन् ।

राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिलाले तीन दशकसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए ।

उनलाई ‘ब्याटलिंग बेगम’ पनि भनिन्छ । बेगम उच्च परिवारका मुस्लिम महिला हुन् ।

यी दुई महिला नेताबीचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बस बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

यद्यपि, आठ वर्षपछि सन् २००९ मा हसिना फेरि सत्तामा आइन् । यो निर्वाचन कार्यवाहक सरकारको निगरानीमा भएको हो ।

तत्कालिन समय उनी धेरै पटक जेलमा परेकी थिइन् र उनी धेरै आक्रमणबाट बच्न सफल भएकी भइन् । सन् २००४ मा भएको आक्रमणका कारण उनको श्रवणशक्तिमा क्षति पुगेको थियो । उनलाई देश निकाला गर्ने प्रयास समेत भएको थियो, उनी भ्रष्टाचारको आरोपमा कैयौँ मुद्दामा फसेकी थिइन् ।

शेख हसिनाले के हासिल गरिन् ?

विश्वको सबैभन्दा गरिब देशको रुपमा रहेको बंगलादेशले हसिनाकै नेतृत्व ठूलो आर्थिक छलाङ्ग मारेको छ । करिब १५ वर्षको लगातारको उनको नेतृत्वले बंगलादेश आर्थिक हिसाबले धेरै अगाडि बढेको छ ।

बंगलादेश अहिले दक्षिणी एसियाली देशहरुमध्ये सबैभन्दा रुपमा अर्थतन्त्रको विकास गर्ने देशमा पर्दछ । आर्थिक प्रगतिको मामिलामा यसले विशाल छिमेकी भारतलाई पनि पछि पारेको देखिन्छ ।

पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमानअनुसार बंगलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएका छन् ।

बंगलादेशको आर्थिक प्रगतिको श्रेय देशको कपडा उद्योगलाई जान्छ । बंगलादेशको कुल निर्यातको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ र हालैका दशकहरूमा द्रुतरूपमा बढेको छ ।

बंगलादेशको यो उद्योगले युरोप, अमेरिका र एसियाका बजारमा आपूर्ति गर्छ ।

विकाससँगै विवाद

पछिल्लो आन्दोलन शेख हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । अत्यधिक विवादित चुनावी नतिजापछि यी प्रदर्शनहरू भएका थिए । विवादित आम निर्वाचनमा उनको पार्टी लगातार चौथो पटक निर्वाचित भएको हो ।

राजीनामाको माग बढ्दै गएपनि शेख हसिना अडिग थिइन् । उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै आलोचना गरेकी थिइन् । उनले यी ‘आतंकवादी’लाई कडाइका साथ सामना गर्न आन्तरिक र बाह्य सहयोग पनि माग गरेकी थिइन् ।

ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत बन्न पुगेको थियो ।

कोभिड महामारीपछि, बंगलादेशले बढ्दो मुद्रास्फीति र बढ्दो खर्चसँग संघर्ष गरिरहेको छ । मुद्रास्फीति गगनचुम्बी छ, विदेशी मुद्रा सञ्चिति घटिरहेको छ र बंगलादेशको विदेशी ऋण सन् २०१६ देखि दोब्बर भएको छ ।

लोकतन्त्र र मानवअधिकारको मूल्यमा देश दुग्रतीतर्फ गएको आलोचकहरू बताउँछन् । हसिनाको शासनकालमा उनका राजनीतिक विपक्षी, मिडिया र विपक्षीलाई दमन गरिएको उनीहरुको आरोप छ ।

बंगलादेश सरकार र शेख हसिनाले सधैँ यस्ता आरोप अस्वीकार गर्दै आएका छिन् । तर हालैका महिनाहरूमा, सरकार विरोधी प्रदर्शनमा संलग्न हजारौं राजनीतिक कार्यकर्ता र नागरिकहरू सहित विएनपीका धेरै वरिष्ठ नेताहरूलाई गिरफ्तार गरिएको थियो ।

बंगलादेशका मानवअधिकार समूहहरूले पनि सन् २००९ यता सयौं मानिस बेपत्ता र गैरन्यायिक हत्याका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

शेख हसिनाको सरकारले यस्ता आरोपलाई ठाडै अस्वीकार गर्दै आएकी थिइन् । तर, उनको सरकारले यस्ता आरोपको छानबिन गर्न चाहने विदेशी पत्रकारको भ्रमणमा रोक लगाएको थियो । एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट