काठमाडौं । गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकाल एकसाथ अमेरिका उडेका छन्। उनीहरू ५५ दिन लामो ‘अब नाच्छ अमेरिका’ सांगीतिक कार्यक्रमका लागि सोमबार अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।
सोमबार बेलुका त्यसतर्फ प्रस्थान गरेका उनीहरूले हरितालिका तीजको अवसर पारेर अमेरिकामा आयोजित हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन् । यी सबैको यो पहिलो अमेरिका भ्रमण हो ।
उक्त कार्यक्रम फ्लाइ नेपालले अमेरिकाका विभिन्न सहरमा कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका बोस्टन, न्युयोर्क, मेरिल्याण्ड, भर्जिनिया, कोलम्बस, मिसिगन, टेक्सस, सिकागो, सान फ्रान्सिस्को र लस एन्जलस लगायतका राज्य र सहरमा कार्यक्रम तय गरिएको छ ।
अगस्ट १० मा बोस्टन सहरबाट टुरको सुरूआत हुनेछ। सेप्टेम्बर २९ सम्मका लागि कार्यक्रम तय छ। यो सांगीतिक कार्यक्रम सेप्टेम्बर २९ मा क्यालिफोर्नियाको लस एन्जलसमा गएर टुंगिनेछ ।
नेपालकै व्यस्त गायिकामध्येकी एक रहेकी गायिका रचनाले अमेरिका आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्रा रहेको पनि जानकारी दिएकी छन् ।
फेसबुकमा रचनाले भनेकी छन्, ‘केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीका लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरूकै कारणले आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु ।’
अमेरिकामा रहेका नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।