काठमाडौं । आइतबार नवमनोनित उपाध्यक्ष र केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउँदै प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, “पार्टीमा कुनै पनि खालको गुटबन्दी स्वीकार्य छैन ।”
उनले “आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने” उद्घोष गरेका थिए । ओलीका अनुसार लोकतन्त्रको नाममा गुटबन्दी मौलाउँदा पार्टी सकिन्छन् ।
“डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्, पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीले गर्दा हो”, ओलीले भनेका थिए, “हाम्रोमा पनि त्यही अभ्यास थियो, त्यही कारण विभाजन पनि भयो, अब त्यो गुटबन्दी स्वीकार्य हुन्न ।”
ओलीले गुट विरोधी शैलीमा अभिव्यक्ति दिएपनि एमालेभित्र गुटगत अभ्यास भने स्वयम् ओलीबाटै भएको देखिन्छ । विभिन्न नियुक्ति तथा मनोनयनमा त्यसको छनक पाइन्छ । समूह छानेरै पार्टीभित्र पनि भूमिका दिने गरेको आरोप स्वयम् ओलीमाथि लाग्ने गरेको छ ।
पछिल्लो समय पार्टीभित्र गरिएको कार्यविभाजन मात्रै होइन, सरकारमा सहभागिताको विषयमा पनि गुटगत शैलीबाटै निर्णय भएको पाइन्छ । विशेषगरी पार्टीभित्रको निर्णयबाट अहिले ‘१० भाई’ भनिने पूर्व माधव नेपाल समूह र पूर्वराष्ट्रपति विद्या देवी भण्डारी समूह तिव्र असन्तुष्ट देखिन्छन् ।
एमालेभित्र कति छन् गुट ?
एमालेभित्र सबैभन्दा बलियो गुटको रुपमा स्वयम् ओलीले नेतृत्व गर्ने गुटलाई हेरिन्छ । उनले आफू अनुकुलका नेताहरुलाई छानीछानी जिम्मेवारी दिँदै आफ्नो गुट बलियो बनाइरहेको पाइन्छ । पार्टी नेतृत्व तहमा जनअनुमोदित होऊन् वा नहोऊन् ओली निकटले मात्रै अवसर पाइरहन्छन् । विभिन्न नियुक्तिहरुमा पनि उनी निकट नेताहरुले नै प्राथमिकता पाएको देखिन्छ ।
ओलीको टिममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, उपमहासचिव प्रदिप ज्ञवाली, नेता राजन भट्टराईलगायतका नेताहरुले संयोजन गरेको पाइन्छ । ओलीलाई सल्लाह तथा सुझाव दिने मात्रै नभई अन्य नेताहरुको जिम्मेवारी तोक्ने सन्दर्भमा पनि यी नेताहरुको भूमिका देखिन्छ ।
एमालेभित्र ‘दोहोरो/तेहोरो’ जिम्मेवारी हुन नहुने एजेन्डा बनाउने ओली उल्लेखित नेताहरुको सन्दर्भमा भने मौन रहन्छन् । सरकार होस् वा पार्टीगत जिम्मेवारी पहिला यिनै नेताहरुलाई मात्रै अगाडि सारेको पाइन्छ ।
उपमहासचिव रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुन् भने पार्टीभित्र निर्वाचन र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखसमेत हुन् । रोचक विषय, कहिल्यै जनअनुमोदन हुन नखोज्ने रिमाल पार्टीभित्रको भूमिकामा भने सधैँ अगाडि रहन्छन् । जुन ओली निकटताकै कारण भएकोमा दुविधा छैन ।
रिमाल मात्रै नभई अन्य नेताहरुको भूमिका पनि दोहोरो/तेहोरो खालको छ ।
एमालेभित्र ओली गुटसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको समूह, ‘१० भाई’ भनेर चिनिने पूर्व माधवकुमार नेपाल समूह, पूर्ववामदेव गौतम समूह, पूर्वमाओवादी समूहलगायतका समूहहरु पनि सक्रिय छन् । रोचक विषय, ओली समूहभित्रै पनि गुटहरु छन् ।
महासचिव शंकर पोखरेलको एउटा गुट छ भने उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको अर्को गुट छ । यी दुई गुटका बीचमै पनि बेला–बखत देखिने गरी प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।
पौडेल, कहिले ओली निकट त कहिले विद्या भण्डारी निकट देखिने गरेका छन् । पछिल्लो पटक सरकारमा उनी भण्डारीको जोडबलले आएको चर्चा एमालेभित्र पाइन्छ । जसको प्रभाव ओली र पौडेलबीच सम्बन्ध चिसिएको छ । र, पोखरेलले थप अवसर पाएकाे पाइन्छ । जुन ७ बुँदे सहमतिकाे बेला झल्किएकाे थियाे ।