काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेकी नायिका आँचल शर्माले फिल्म क्षेत्रमा करिब आठ वर्ष बिताइ सकेकी छन् । उनले करिअरको अन्तरालमा १० वटा फिल्ममा अभिनय गरिसकेकी छन्।
विशेषगरी नायिका आँचल फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । फेसनमा निकै रुचि राख्ने उनी आफूलाई सधैँ नयाँ र राम्रो तरिकाले प्रस्तुत गर्नमा समेत माहिर छिन् । मनमा लागेको कुरा भनिहाल्ने स्वभावले उनलाई कहिले काहीँ विवाद र चर्चामा ल्याउने गरेको देखिन्छ। तर, विवाह गरेपछि आफूलाई अझ निखारेर ल्याएकी उनको बोल्ने शैली होस् अथवा फिटनेश मेन्टेन सबै कुरालाई लिएर उनको प्रशंसा चुलिएको रहेको हुन्छ ।
फिल्म ‘नाइँ नभन्नु ल ६’ असफल भएसँगै काम कम पाएकी आँचलले पछिल्लो फिल्म ‘डिग्री माइला’ले समेत भने जस्तो सफलता पाएन । तर, यो फिल्मको असफलताले उनलाई केही फरक परेको देखिँदैन किनकि उनको हातमा आधा दर्जन फिल्म पाइपलाइनमा छन् ।
यसरी धेरै फिल्म हुनु कलाकारको लागि खुसीको कुरा हो । तर, आँचलका लागि हातमा फिल्मको लाइनअप बलियो देखिएसँगै तनाव सिर्जना भइरहेको छ। उनको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’ यही भदौको १४ गतेदेखि रिलिजमा आउँदै छ । जसको प्रचार प्रसारमा उनले समय छुट्याउनु पर्ने हुन्छ भने योसँगै भदौ महिनामै अन्य तीन फिल्मलाई समेत समय दिनु पर्ने देखिएको छ ।
आँचलको हातमा रहेका फिल्म मध्य ‘जेरी: अन टप’, ‘पीताम्बर’ र ‘दुःखी आत्मा’को छायांकनका लागि समय जुटाउनु पर्ने भएको छ। यी फिल्महरू भदौ बाटै छायांकनमा जाने तयारीमा छन् ।
नायक अनमोल केसीसँग पहिलो पटक स्क्रिन सेयर गर्ने लागेकी आँचलले फिल्म ‘जेरी: अन टप’ यही भदौ ३ गतेबाट छायांकनमा जाने तयारीमा रहेसँगै समय दिनुपर्ने देखिन्छ । करिब एक महिना नेपालमा र यसपछि, भारतको लद्दाकमा छायांकन गर्ने सेड्यूल बनाएका निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले भदौको ३ गतेबाट फिल्म ‘जेरी: अन टप’को छायांकन गर्ने तयारी गरेका छन् ।
यता, निर्देशक कृषा चौलागाई निर्देशन गर्न लागेको फिल्म ‘पीताम्बर’मा पनि आँचलले अनुबन्धित भएकाले समय दिनु पर्ने जरुरी छ । भदौ १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको तयारीमा भएकाले यो फिल्मलाई पनि उनले समय दिनु पर्ने भएको छ ।
त्यस्तै गरी निर्देशक दीपेन्द्र लामाको फिल्म ‘दुःखी आत्मा’ पनि आँचल छिन् । यस फिल्ममा दयाहाङराईसँग उनको जोडी पक्का भइसकेको छ । हाल प्रि-प्रेडक्शन भइरहेकाले र मुख्य कलाकार दया फिल्मको वर्कसपमा जोडिएसँगै यसको निर्माणपक्ष भदौबाटै छायांकन गर्ने तयारीमा छन् ।
यसरी हेर्दा, भदौमा आँचललाई निकै सकस पर्ने देखिन्छ । उनी माथि तीन फिल्मको दबाब छ, किनकि उनका लागि सेड्यूल मिलाउनुपर्ने हुन्छ । यसरी आफूले साइन गरेका तीनै फिल्मको सेड्युल जुध्ने स्थिति आइलागेको बेला मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनालेमा सहभागी हुन आँचल गत मंगलबार न्युयोर्क उडेकी थिइन् । अबको केही दिनमा नेपाल फर्किने भएसँगै उनले कसरी सेड्यूल म्यानेज गर्छिन् त्यो भने हेर्न बाँकी हुने छ ।