सिमलताल दुर्घटना : पाँच कारण औंल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन-Sutra News

सिमलताल दुर्घटना : पाँच कारण औंल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडौं । चितवनको भरतपुर महानगर २९ मा पर्ने त्रिशूली नदीको सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।



गृह मन्त्रालयमा आयोजित कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले प्रतिवेदन बुझाउँदै दुर्घटनाका कारण र न्यूनीकरणका लागि गर्नु पर्ने कामबारे सुझाव दिइएको छ ।

यस क्रममा गृहमन्त्री लेखकले समितिले बुझाएको प्रतिवेदन अनुसार कार्यान्वयन गर्ने बताएका थिए । प्रतिवेदन अध्ययन गरिने र सुझाव कार्यान्वयनसम्बन्धि निकायमा पठाउने उनको भनाइ थियो ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए ।

गत असार २८ गते सिमलतालमा लेदोसहित खसेको पहिरोले दुई वटा यात्रुवहाक बसलाई त्रिशूलीमा खसालेको थियो । बसमा कूल ६८ जना यात्रु थिए । जसमा तीन जना पौडिएर ज्यान बचाउन सफल भएका थिए । हालसम्म २४ जनाको शव भेटिँदा अन्य यात्रुको अवस्था अज्ञात रहेको छ ।

समितिले दुर्घटना हुनुमा पाँच कारणहरु औंल्याएको छ । जसमा ग्रामीण सडक खन्दा निस्केको माटो मुख्य राजमार्गभन्दा माथि नै छाडिएकाले बाढीले बगाएर राजमार्गमा ल्याएको उल्लेख छ । “सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कंक्रिटबाट मात्र सडक बनाउँदा अत्याधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याँकिएको पाइयो”, समितिले उल्लेख गरेको छ ।

भरतपुर महानगरपालिकाले विस्तार गरेको उक्त ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना खनिएको समितिले बताएको छ ।

यस्तै, सिन्दुरे खोल्सामा बनाइएको चेक ड्याम तथा ग्याबिन वालले भार थाम्न नसक्दा बाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रानले सडक क्रस गर्दै गरेका सवारी साधनलाई धकेलेर त्रिशूलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।

समितिले कल्भर्ट समयमै सफा नगर्दा माथिबाट झरेको डेब्रिज एकै पटक मूल सडकमा आई सडक अवरोधसमेत गरेको बताएको छ ।

साथै, समितिले सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सुरक्षा निकाय र बस चालकलाई थाहा नहुँदा पनि दुर्घटना हुन गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट