काठमाडौं । निर्माता एवं अभिनेता दीपकराज गिरी वर्षमा एउटा फिल्म लिएर आउँछन् । तर, उनी वर्षभरि नै चर्चामा रहन्छन् । यतिबेला दीपक आफ्नो नयाँ फिल्म ‘छक्का पञ्जा ५’ का कारण चर्चामा छन् ।
दीपक नै मूख्य भूमिकामा रहेको फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीमा रिलिज तयारीमा छ । सामाजिक सञ्जालमा तस्वीर खासै शेयर नगर्ने उनले विचार भने राखिरहेका हुन्छन् ।
गिरी सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस लेख्न खप्पिस छन् । प्रायः उनले देशको राजनैतिक र समसामयिक विषयमा लेख्ने गर्छन् ।सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत जुनसुकै विधासँग जोडिएका विषयलाई उनी व्यंग्यात्मक ढंगले स्टाटस मार्फत आफ्नो धारणा सार्वजनिक गर्छन् ।
आज मंगलबारको शेयर बजार घटेको छ । नेप्से परिसूचक एक सय ४५ दशमलब शुन्य पाँच अंकले ओरालो लागेर दुई हजार ६ सय ५१ मा सीमित भएको छ । सायदै त दीपक पनि शेयर बजारमा चासो राख्ने भएकोले होला उनले शेयर बजारलाई श्रीमतिसँग तुलना गर्दै स्टाटस लेखेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली शेयर बजार र श्रीमतिको मुड ठ्याक्कै उस्तै । कसैले छिस्स केही भनिदियो कि बिग्रिहाल्ने ।’ दीपकको यो स्टाटस मानिसको जीवनमा कति लागु भएको छ या छैन, त्यो उनीहरु नै जानुन् । तर धेरैका लागि उनको यो स्टाटसले पक्कै चित्त बुझेको हुनुपर्छ ।