काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा आजदेखि हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् ।
परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए ।
एनजी आउनेमा सबैभन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।
यसअघि प्रकाशित एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसईई परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।
परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख नौ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।