पूर्वअर्थमन्त्री महतसहित माओवादी सांसद दाहाल र स्वतन्त्र सांसद अमरेशमाथि कारबाही गर्न माग-Sutra News

पूर्वअर्थमन्त्री महतसहित माओवादी सांसद दाहाल र स्वतन्त्र सांसद अमरेशमाथि कारबाही गर्न माग

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । सार्वजनिक फोरम प्रयोग गरी पुँजीबजारसम्बन्धी विवादित अभिव्यक्ति दिनेमाथि कारबाही गर्न यस क्षेत्रका लगानीकर्ताहरुले माग गरेका छन् । बुधबार विभिन्न चार लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।



निरन्तर बजार बृद्धिका बीच मंगलबार भारी अंकले बजार घटेको थियो । अस्वभाविक गिरावट देखिएपछि सबै खालका लगानीकर्ता आतंकित देखिएका थिए ।

विशेषगरी पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाश शरण महत, माओवादी सांसद राजन दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सेयर बजार बृद्धिमाथि छानबिन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले बजार बृद्धि हुनुमा चलखेल रहेको आशंका सार्वजनिक गरेका थिए ।
सेयर बजारको भारी गिरावटलाई जुन अभिव्यक्तिसँग जोडेर हेरिएको छ ।

केही स्क्रिप्टको नामै तोकेको जिम्मेवार सांसदले अभिव्यक्ति दिनु खेदजनक भएको लगानीकर्ताहरुको भनाई छ । “बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ”, लगानीकर्ताहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “यसमा हामी पुँजी बजारमा संलग्न संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।”

पुँजी बजार स्वयम् लगानीकर्ताले निर्धारण गर्ने विषय भएको भन्दै पुँजी बजारलाई लिएर मनलागी अभिव्यक्ति नदिन पनि लगानीकर्ताहरुले चेतावनी दिएका छन् । “पुँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको कारणले चल्ने बजार हो, कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा स्वयम् लगानीकर्ताले निर्धारण गर्ने कुरा हो”, विज्ञप्तिमा भनिएको छ, “जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ, उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्ति नदिन पनि चेतावनी दिन चाहन्छौं ।”

जिम्मेवारबाट दिएको विवादित अभिव्यक्तिले बजारमा प्रभाव परेको भन्दै लगानीकर्ताहरुले बजारमा परेको क्षति पनि अभिव्यक्ति दिनेबाट उठाउन पनि माग गरेका छन् । “नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरुमाथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकाले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौं”, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

किन भारी अंकले घट्यो नेप्से ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट