नेपाली मेकरमा रोकिएन रि-रिलिजको लहर, तर कति सफल ?-Sutra News

नेपाली मेकरमा रोकिएन रि-रिलिजको लहर, तर कति सफल ?

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । नेपाली फिल्म रि-रिलिजको क्रम जारी छ । एकपछि अर्को फिल्म रिलिज भइरहेका छन् । रिलिजको घोषणा गर्नेक्रम पनि जारी छ । पहिलो चरणको प्रदर्शनमा लगानी उठाउन नसकेपछि निर्माताहरूले पुनः प्रदर्शन गर्न आउँछन् । तर, दोस्रो चरणको प्रदर्शनमा उल्लेख्य कमाइ नगरेको विगत पनि त्यति नै छन् ।



साउन ३२ गते ‘बुलाकी’ रि-रिलिज हुँदैछ । त्यसपछि ‘नालापानी’ रिलिज हुनेछ । यसअघि फिल्म ‘आचार्य’, ‘बिहेपास’, ‘चपली हाइट–३’, ‘कठपुतली’, ‘रेशम फिलिलि’, ‘छक्का पञ्जा-२’ लगायत फिल्म पनि प्रदर्शन भएका थिए ।

निर्माता अर्जुन कुमारले त फिल्म ‘चपली हाइट ३’लाई तीन पटक रिलिज गरे । उनको रि-रिलिजको चाहना सफल हुन सकेन । फिल्म रिलिज भएको मितिमै असफल भयो । यसपछि, दर्शकले फिल्म नै हेर्न नपाएको भन्दै उनले बारम्बार रिलिज त गरे तर, दर्शकले फिल्मलाई हेर्न रुची देखाएनन् । फेरि रिलिज गरेर फिल्मबाट पैसा कमाउने उनको योजना असफल भयो ।

रिलिजको १५ वर्षपछि गत असारको ७ गते फिल्म ‘आचार्य’को  रि-रिलिज गरियो ।  तर, यो फिल्म रिलिजको एक सातामै चलचित्र विकास बोर्डले सेन्सर नभएको भन्दै प्रदर्शन रोक्यो । फिल्म रिलिजको एक सातामा कुनै कमालको व्यापार गर्न सकेन ।

गत वर्षको असार २९ गते फिल्म ‘बिहेपास’ पनि रि-रिलिज भएको थियो । तर, उक्त फिल्मले रि–रिलिजमा दर्शक तान्न सकेन । दयाहाङ राई मुख्य भूमिकामा रहे पनि उक्त फिल्म हेर्न दोस्रोपटक पुनः हलमा दर्शक पुगेनन् ।

यता पुनः रिलिज गर्ने तयारी गरिएको फिल्म ‘बुलाकी’ गतबर्षको वैशाख १ गते फिल्म ‘जारी’को चेपुवामा परेको भन्दै प्रदर्शन २ दिनमै स्थगीत गरिएको थियो । यसैले, निर्माणपक्षले फेरि फिल्मलाई दर्शकमाझ ल्याउने तयारी गरेको हो ।

साउनको १८ गते फिल्म ‘नालापानी’ फेरि रिलिज गर्ने तयारी निर्माता तथा निर्देशक रिमेश अधिकारीको छ । यो फिल्मले हलमा गतिलो व्यापार गरेन । तर, यो फिल्मलाई स्कुल-स्कुलमा देखाएर रिमेशले विद्यार्थीमाझ भने पुर्याए । अब, फेरि दर्शकमाझ यो फिल्म ल्याउने तयारी उनको छ ।

अब यही भिडमा मिसन आउने भएको छ, फिल्म ‘काँडेतार’ । नवल खड्काको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म रि-रिलिज हुने भएको हो । आउँदो वर्ष फिल्म रिलिज गर्ने तयारीमा निर्माणपक्ष रहेको छ ।

यो फिल्म गत वर्षको फागुन २५ गते रिलिज भएको थियो । फिल्मले नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथामा आधारित छ ।

फिल्मको रि-रिलिजमा दर्शकको चासो खासै भएको देखिंदैन । तर, नेपाली फिल्म रि-रिलिजको लहर भने चलिरहेको छ । फिल्म रि-रिलिज हुनेक्रम जारी रहे पनि दोस्रोपटकको प्रदर्शनमा फिल्मले कमाए गरेको इतिहास छैन । त्यसैले रि-रिलज निर्माताको रहरजस्तो मात्रै देखिँदै आएको छ । आँखै अगाडि ब्यापार नभए पनि मेकरले दोस्रोपटक प्रदर्शन गर्न भने छोडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट