माधवलाई पार्टी जोगाउनै सकस-Sutra News

माधवलाई पार्टी जोगाउनै सकस

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो रौटहट । २०७९ मंसिरको आम निर्वाचनमा नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।



तत्कालिन निर्वाचनमा आएको परिणामलाई हेर्दा, अन्यतिर कमजोर भएपनि अध्यक्ष नेपालको गृहजिल्ला रौटहटमा एकीकृत समाजवादी बलियो प्रतिस्पर्धीको हैसियतमा रहेको देखिएको थियो । हुन पनि एमाले विभाजन हुँदा समग्र जिल्ला कमिटी नै एकीकृत समाजवादीतर्फ लागेको थियो ।

तर, पछिल्लो समय एकीकृत समाजवादीको रौतहट कमिटीमै क्रमशः पहिरो जान थालेको छ । जिल्लाका बलिया खम्मा मानिने नेताहरु क्रमशः एकीकृत समाजवादीबाट बाहिरिन थालेका छन् ।

साउन २१ मा मधेश प्रदेशको पूर्वराज्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका प्रभावशाली नेता नागेन्द्रराय यादव एमाले फर्किए । यादवसँगै जिल्ला कमिटीका दर्जनौ नेता एमाले फर्किएका छन् ।

रौतहट मात्रै होइन, देशैभरी एकीकृत समाजवादीभित्र पार्टी छाड्ने लहर चलेको छ । अधिकांश पुरानै पार्टी एमाले फर्किन थालेका छन् भने कतिपय माओवादी केन्द्रलगायतका पार्टीमा पनि प्रवेश गरेका छन् ।

पार्टी गठनमा साथ दिएका नेताहरु मुकुन्द न्यौपाने, गुरु बराल, चुडामणी जंगली, लीलानाथ श्रेष्ठलगायत यसअघि नै एमालेमा फर्किसकेका छन् । मूल पार्टीमा फर्किएका नेताहरुलाई एमालेले पनि सम्मानपूर्वक भूमिका दिएको छ ।

आन्तरिक कलहले समस्या

एकीकृत समाजवादीभित्र पार्टी गठनदेखि नै विवाद देखिन्छ । विशेषगरी भूमिकाको प्राप्तिको हिसाबले कतिपयले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

पार्टी गठनको समयमा मुख्य भूमिका खेलेकी रामकुमारी झाँक्री उचित भूमिका नपाउँदा निरन्तर निष्क्रिय जस्तै छिन् । बेला बखत झाँक्री एमालेमा फर्किने चर्चा पनि चलिरहेको पाइन्छ ।

गत असार तेस्रो साता एकीकृत समाजवादीले महाधिवेशन सम्पन्न गरेको थियो । तर, पार्टी विवादकै कारण हालसम्म पनि पदाधिकारीसहित विभिन्न कमिटीलाई पूर्णता दिन सकेको छैन ।

आन्तरिक विवादकै कारण झण्डै एक महिना लगाएर केन्द्रीय कमिटीलाई पूर्णता दिएको एकीकृत समाजवादीले अन्य पदाधिकारीमा अझै निर्णय लिन सकेको छैन ।

महाधिवेशनको बीचमा कतिपय नेताहरु असन्तुष्टिकै कारण अनुपस्थितसमेत भएका थिए । जुन विवाद थप बृद्धि भइरहेको देखिन्छ ।
नेता नागेन्द्रराय यादवको एमाले प्रवेशलाई पनि सोही विवादको श्रृंखलामा हेर्न सकिन्छ ।

अहिले केही सांसदहरु समूहगतरुपमै विभाजनको कित्तामा समेत देखिएका छन् । सांसद प्रेम आले र किसान श्रेष्ठले महाधिवेशनकै बीचमा पार्टी फुटाउने तयारीसमेत गरेको चर्चा चुलिएको थियो । उनीहरुले सामूहिकरुपमै महाधिवेशनलाई बहिस्कारसमेत गरेका थिए ।

विचार मिल्दाको प्रभाव

एमाले र एकीकृत समाजवादीमा नीतिगतरुपमा भिन्नता छैन । विशेषगरी तत्कालिन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबब)को सन्दर्भमा रहेको विवादलाई हालै सम्पन्न एकीकृत समाजवादीको महाविधेशनले हल गरेको छ ।

एकीकृत समाजवादीले जबजलाई समाजवादी कार्यदिशाको अभिन्न अंग बनाएर राजनीतिक दस्तावेज पारित गरेको छ ।

जबजले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका माग व्यवहारमा लागु भइनसकेको निष्कर्ष एकीकृत समाजवादीको छ ।

तत्कालिन र दीर्घकालिन नीतिको सन्दर्भमा पनि दुई दलबीच खास भिन्नता छैन । एउटै नीति र कार्यक्रम भएको कारण पनि नेताहरु कमजोर संगठन रहेको एकीकृत समाजवादीलाई त्याग्न थालेको पाइन्छ ।

ओली सरकारमा पुगेसँगै थप जोखिम

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै एकीकृत समाजवादीभित्र पार्टी जोगाउने चिन्ता निकै नै बढेको छ । नेताहरुका सार्वजनिक अभिव्यक्तिले पनि अवस्था निकै नै समस्याप्रदक रहेको देखाउँछ ।

“हाम्राविरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ, त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ”, हालै पार्टी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले भनेका थिए ।

उनको भनाईलाई हेर्दा पार्टी जोगाएर जाने विषय निकै नै चुनौतिपूर्ण छ ।

पार्टीभित्र विवाद चुलिएकै बखत सांसद प्रेम आलेसहितका नेताहरु ओलीलाई भेट्न पुगेको विषय बाहिरिएको थियो । नेताहरुले अध्यादेशमार्फत पार्टी विभाजनको मार्ग खोलिदिन आग्रह गरेको बताइएको छ ।

जुन घटनापछि नै अध्यक्ष नेपालले केन्द्रीय समिति बैठक डाकेर यस्तो चिन्ता व्यक्त गरेका थिए ।

एमाले स्पष्टरुपमा एकीकृत समाजवादीका नेताहरुलाई फर्काउने पक्षमा छ । उसले एमाले प्रवेश गर्नेलाई उचित सम्मानसहित भूमिका पनि दिइरहेको छ ।

यदि सांसद आलेलगायतले माग गरे जस्तै पार्टी विभाजनको बाटो खोलिएमा ठुलै समूह एमालेमा प्रवेश गर्न सक्छ । नेताहरुका अनुसार एकीकृत समाजवादीभित्रको असन्तुष्ट समूह एमालेसँग निरन्तर संवादका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट