सेयर बजारले फेरि समात्यो लय-Sutra News

सेयर बजारले फेरि समात्यो लय

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) फेरि फर्किएको छ । मंगलबार १४५.०५ अंकले घटेको नेप्से बुधबार १०८.३५ अंकले बढ्दै लय समातेको हो । बुधबार समग्रमा बजारमा ४.०८ प्रतिशत बृद्धि भएको छ ।



२७५९.६७ को बिन्दुमा उक्लिएको नेप्सेमा डेढ दर्जनभन्दा बढी कम्पनीको मूल्य सर्किट लेबलमा बढेको छ । यस दिन कारोबारमा आएका २४२ कम्पनीमध्ये २३८ कम्पनीको मूल्य बढेको छ भने चार कम्पनीको मूल्य घटेको छ ।

यस दिन कारोबार रकममा भने केही कमी आएको छ । मंगलबार २३ अर्ब ७१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा यस दिन कारोबार रकम १७ अर्ब ९५ करोडमै सीमित भयो । जुन अघिल्लो दिनको भन्दा झण्डै ६ अर्बले कम हो ।

सबै सूचक बढ्दा यस दिन अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.३ प्रतिशतले बढ्दा विकास बैंक ४.५ प्रतिशत र फाइनान्स ७.६ प्रतिशतले बढ्यो ।

यसैगरी, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढे ।

यस दिन सर्वाधिक हिमालयन रि इन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा मै हाइड्रोपावर, शिवम् सिमेन्टलगायत कारोबार रकमका आधारमा शीर्ष रहे । हिमालयन रि इन्स्यारेन्सको मात्रै यस दिन १६ लाख ९४ हजार २१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको भयो ।

विशेषगरी बाह्य केही चर्चा र लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा मंगलबार बजारमा भारी अंकको गिरावट आएको थियो । यद्यपि, बुधबार लगानीकर्ता समालिएसँगै नेप्सेले लय लियो । बजार विश्लेषकहरु अब बजारले थप रफ्तार लिने विश्वास व्यक्त गर्दछन् ।

सम्बन्धित समाचार

किन भारी अंकले घट्यो नेप्से ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट