काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा ११ वटा एजेण्डमाथि बिहीबार पनि छलफल भएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उक्त एजेण्डामाथि आमन्त्रित प्रदेश सभापतिहरूले धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसलगतै केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको उनको भनाइ थियो ।
केन्द्रीय कार्य समिति बैठकमा निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले बताए । उनले प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको दाबी गरे ।
बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, एक सय दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्थालगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।