काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा पेश भएका प्रस्तावसँगै विभिन्न ११ एजेन्डामाथि छलफल गर्ने कार्यसूची बनाइएको छ ।
यद्यपि, बैठकमा कार्यसूचीभन्दा बाहिर बढी छलफल केन्द्रीत भएको छ । जारी बैठकमा नेताहरुले सरकार सञ्चालन, संविधान संशोधन, गठबन्धनबारे धारणाहरु राखिरहेका छन् ।
बिहीबारको बैठकमा बोल्ने कतिपय सदस्यले गठबन्धनको भविष्यमाथि समस्या देखिएको बताएका थिए । गठबन्धन निर्माणको आधार र गठबन्धनभित्र बन्न नसकेको न्यूनतम साझा कार्यक्रमले विश्वास बढाउने अवस्था नभएको टिप्पणी नेताहरुको छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले न्यूनतम कार्यक्रम निर्माण गर्न नसक्नुको कारण माग गरेकी थिइन् । उनले गठबन्धनले जनतालाई आश्वस्त पार्नुपर्ने धारणा राखेकी थिइन् ।
केन्द्रीय सदस्य राजिब कोइरालाले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार सरकार बनेकोले यसको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।
बिहीबारको बैठकमा कतिपय नेताहरुले इतर समूहको भूमिकालाई लिएर आक्रोश पनि पोखेका थिए । नेता मोहन बस्नेतले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा गठबन्धन भाँड्न लागिपरेको आरोप लगाएका थिए ।
“संसदमा गिरिबन्धु टि स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको माग राखियो, के यो गठबन्धन भाँड्ने खेल त होइन ?”, उनले प्रश्न गरेका थिए ।
साथै, बस्नेतले गठबन्धन विरोधी हर्कतलाई बन्द गर्नुपर्ने बताएका थिए । नत्र गठबन्धनकै भविष्य धरापमा पर्ने उनको भनाई थियो । “महामन्त्रीहरूले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भन्ने सोच राखेर यस्तो बोल्दैछन्, यस्तो हर्कतलाई रोक्नुपर्छ ।”
इतर समूहप्रति सशंय
अप्रत्यासित र अस्वभाविक शैलीमा असार १७ मा गठबन्धन निर्माण भएको प्रति कांग्रेसभित्र निरन्तर प्रश्न उठ्दै आएको छ । विशेषगरी इतर पक्षले ‘दुई ठूला दल मिल्न नहुने’ धारणा राख्दै आएको छ ।
जसमा आफ्ना स्वास्र्थ जे भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहिरहँदा कांग्रेसलाई क्षति हुने बुझाई इतर पक्षमा देखिन्छ । एमालेसँगै कांग्रेस पनि बदनामित हुने र चुनावमा जाँदा क्षति व्यहोर्ने बुझाई इतर पक्षको छ ।
विशेषगरी तत्कालिन सरकारले अगाडि बढाएका विभिन्न प्रकरणमाथिको छानबिन रोकिएसँगै जनस्तरमा गठबन्धनबारे चलेको चर्चामा इतर पक्ष सशंकित देखिन्छ । “गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ”, महामन्त्री शर्माले साउन १३ को संसद बैठकमा भनेका थिए, “त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।”
यहीबीच दक्षिण कोरिया पुगेका अर्का महामन्त्री गगन थापाले पनि गठबन्धनको भविष्यमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिएका थिए । दुई महामन्त्रीको प्रश्नपछि प्रधानमन्त्री ओली चिढिएको विषय बाहिरिएको थियो ।