काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर-२’को छायांकन सुरू भएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्मको नाग पञ्चमीको शुभ अवसर पारेर शुक्रबार ललितपुरको गोदावरीबाट शुभसाइत गर्दै छायांकन सुरू गरिएको हो। काठमाडौंमै खिचिने फिल्मलाई ३० दिनको छायांकन तालिका तय गरिएको निर्माणपक्षले जानकारी गराएको छ ।
फिल्ममा नाम चलेका लोकप्रिय कलाकारहरुले अभिनय गरिरहेका छन् । यो फिल्ममा अभिनेतामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल छन् भने अभिनेत्रीहरू केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले शीर्ष भूमिकामा अभिनय गर्दैछन्।
केकीले ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । उपासनाले फिल्म ‘खुस्मा’को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् ।
सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्मको कथा वुद्दिसागरले लेखेका हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको भनाइ छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने भएको छ । फिल्मलाई यही वर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।