काठमाडौं । गत असार २८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ शुक्रबारबाट पाँचौं हप्तामा प्रवेश गरेको छ ।
अनिल बुढा मगर निर्देशित यो फिल्मले सुरुवाती दिन देखिनै बक्सअफिसमा उत्साहजनक रूपमा व्यापार गरिरहेको छ । फिल्मको निर्माण टिमले दुई हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेका छन् । त्यस यता पाँचौं हप्तामा प्रवेश गरेको फिल्मको निर्माणपक्षले कुनै व्यापारिक जानकारी गराएका छैनन् ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मले दुई हप्तामा ४ करोड ६३ लाख रुपैयाँ फिल्मले ग्रसकलेक्सन गरेको थियो । पाँचौं हप्तामा राम्रो व्यापार गरेकाले पूर्ण रुपमा नाफामा गएको दाबी निर्माता घर्ती मगरले गरेका छन्।
अनिलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
यस्तै, अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन अभिनेत्री मिरुना जापान जाने भएकी छन् ।
यो प्रदर्शनी नेपाल मगर संघ जापानको आयोजनामा जापानभर प्रदर्शन हुन लागेको छ। अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी प्रदर्शन हुने र सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुने बताइएको छ ।
करीब दुई लाख नेपाली रहेको जापानमा मिरुना मगर चाहिन्छ भन्ने नेपाली दर्शकहरुको मागलाई सम्बोधन सोरुप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । जापानका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीको सपरिवार उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहने जानकारी नेपाल मगर संघ जापानले दिएको छ ।
रुकुम पुर्वको तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छयांकन गरिएको सिनेमाले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ ।
फिल्म ‘घरज्वाइँ’ नेपाल बाहेक विभिन्न देशहरुमा पनि प्रदर्शन भइरहेको छ ।