काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्मको शुक्रबार नाग पञ्चमीको अवसर पारेर ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
फिल्मका मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड रहेको गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्द रचना र एरेञ्ज छ ।गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । उनको पाश्र्व गायनमा यो डेव्यु फिल्म हो ।
सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपालीफिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली फिल्म हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।