काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।
पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिनअघि सुरु भएको हो ।
रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौंमा दुई दिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन भने उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।
सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र विनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरी छन् ।
प्रवक्ता झाका अनुसार कोशी प्रदेशमा आज सञ्चालन गरिँदै छ । कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिनुभएको छ । बन्द कार्यशालाबाट विचार, सङ्गठन, अभियान, मूल्यमान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबर लिडरसिप एकेडेमीगरी छ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृतगरी केन्द्रीय समितिमा बुझाइने छ । रास्वपा केन्द्रले विधान संशोधनको सुझाव मागेकाले त्यसबारे छलफल भइरहेको सो पार्टीले जनाएको छ ।
“बन्द कार्यशालाबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ”, सहप्रवक्ता प्रतिभा रावलले भने, “राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टीका कामलाई उठाउन कार्यशाला आयोजना गरेका हौँ ।”