काठमाडौं । ब्राजिलको राजधानी साओ पाउलोमा विमान दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।
विमान सञ्चालन गर्ने कम्पनी भोपास एयरलाइन्सका अनुसार दुई इञ्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होसका लागि उडान भरेको थियो ।
एटीआर ७२-५०० विमान आकाशमा अनियन्त्रित भई खसेको थियो । विमान खसेको वरपर घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै थोरै क्षति पुगेको देखिएको छ ।
यसैबीच दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेसँगै बाँचेका छन् । तीमध्ये एड्रियानो एसिसले आफूलाई भाग्यमानी भएको बताए । सुरुमा उनी विमान चढ्न नपाएको भन्दै रिसाएका थिए ।
‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन, यो कुरा बताउन काउन्टरमा कोही थिएनन्, त्यहाँ बसेका केही व्यक्तिहरूसँग मैले यस विषयमा बहस पनि गरेको थिएँ, म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु,’ उनले भने ।
अर्का यात्रु जोस फेलिपले सुरुमा लाताम जाने टिकट बुकिङ गरेको बताउँदै लाताम विमानस्थल बन्द भएकाले नचढेको बताए । एयरपोर्ट पुग्दा बोर्डिङ लिमिट सकिएसँगै त्यहाँ बसेका अधिकारीसँग उनले झगडा गरे । तर, अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन् ।
विमान दुर्घटना भएपछि उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो, म अझै काँपिरहेको छु, यो क्षणको साक्षी म र भगवान् मात्र हौँ ।’