काठमाडौं । पछिल्लो समय डेङ्गी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी संक्रमितको संख्या तीन हजार ८४ जना पुगेको छ ।
चार दिनयता ७२२ जना डेङ्गी संक्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार ३६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण फैलिएको छ । सबैभन्दा बढी डेङ्गी तनहुँमा ५८३ जनामा देखिएको छ । काठमाडौंमा ३०७, कास्कीमा १६६ र झापा १३५ जना डेङ्गी संक्रमित देखिएका छन् ।
स्वास्थ्य मन्त्रालयले डेङ्गी संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए ।
उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।