बंगलादेशको कारागारमा झडप हुँदा १२ कैदीबन्दीको मृत्यु-Sutra News

बंगलादेशको कारागारमा झडप हुँदा १२ कैदीबन्दीको मृत्यु

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । बंगलादेशको पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि दुई कारागारबाट कैदी भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।



देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको हो । आक्रोशित कैदीले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले जानकारी दिए । ‘कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ,’ उनले भने ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताएका हुन् । झडपमा जेलबाट करिब दुई सय कैदीहरू भागेको उनको भनाइ थियो ।

हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशभरि कैदी जेलबाट भाग्ने प्रयासमा छन् । हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट पाँच सयभन्दा बढी कैदी भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट