काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाको कथामा आधारित प्याकुली नामक म्युजिकल फिल्म सार्वजनिक भएको छ । काठमाडौंको सीटीसी मलस्थित वन सिनेमा हलमा शनिबार आयोजित समारोहमा म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय रहेको छ । आरआर (रामहरि)को शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ ।
शिशिर गुरूङले निर्माण गरेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । भिडियोको सम्पादन लाइक माइण्डस् नेपालले गरेको हो भने कलर ग्राफिक्समा राकेश दाहालले योगदान दिएका छन् । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन् ।
समाजको कथालाई आफै भोगेर शब्दमा उतारेका आरआरले म्युजिक भिडियोका मुख्य चरित्र निभाएका छन् । ‘गाउँ समाजमा घटिरहेको घटनालाई शब्दमा उतारेका छौँ, अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्, कही सत्य घटना पनि होलान, तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस्, श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्नेभन्दा पनि कान छाम्ने गरौँ, यो गीतको यही सन्देश हो,’ उनले भने । उनले
गीतको भिडियोमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । कलाकार महेश खड्काले प्याकुलीमा जोडिन पाउँदा आफ्नो कामलाई फरक अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।
गायक गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताउँदै समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताएकी थिइन् ।
गीत सार्वजनिक समारोहमा दिपाश्री निरौला, शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायत कला क्षेत्रका निर्माता निर्देशकको उल्लेख्य उपस्थिति थियो ।