प्रचण्डलाई चुनौति दिँदै जनार्दनको प्रस्ताव : एकताभन्दा पार्टी निर्माणतर्फ जोड-Sutra News

प्रचण्डलाई चुनौति दिँदै जनार्दनको प्रस्ताव : एकताभन्दा पार्टी निर्माणतर्फ जोड

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक जारी छ । साउन २५ गतेबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमाथि विशेष चर्चा परिचर्चा भइरहेको छ ।



बैठकमा विभिन्न प्रस्तावहरुमाथि पनि छलफल चलिरहेको छ । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेका छन् । जसमाथि विशेषगरी नेताहरुले आफ्नो भनाई राखिरहेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमार्फत मुलुकको पछिल्लो राजनीतिक अवस्थाले वाम एकताको पक्षमा माहोल सिर्जना गरेको जिकिर आफ्नो गरेका छन् । प्रचण्डले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका छन् ।

“एकपल्ट बिग्रियो भनेर सधैँका लागि बिग्रिदैन, बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ”, प्रचण्डको प्रस्तावबारे सापकोटाले भनेका छन् ।

बैठकमा प्रचण्डको प्रस्तावमाथि अन्य नेताहरुले धारणा राखिरहेका छन् । बताइएअनुसार केहीले पक्षमा बोलेका छन् भने केहीले प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार पनि गरेका छन् ।

प्रचण्डको प्रस्तावको पक्षमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेताहरु देखिएका छन् ।

यद्यपि, बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्ड प्रस्ताव विपरित राजनीतिक प्रस्ताव अगाडि सारेका छन् । जहाँ उनले ‘माओवादी पार्टी निर्माण’लाई नै जोड दिएका छन् । साथै, उनले पार्टी नेतृत्वबाट प्रचण्ड विस्थापित हुनुपर्ने माग गरेका छन् ।

१४ पृष्ठ लामो प्रस्तावमा उनले प्रचण्डको एकलौटी नेतृत्वको कारण पार्टी समस्यामा पुगेको दाबी गरको छन् । “युद्धकालीन प्राधिकार सामूहिक विचार संश्लेषणको रूपमा थियो तर शान्ति प्रक्रियामा आउँदै गर्दा वैचारिक संश्लेषणलाई खारेज गरेपछि नेतृत्वको प्राधिकार मात्र बाँकी रह्यो जसले पार्टीलाई उल्टो दिशातर्फ डोर्यायो”, शर्माको प्रस्तावमा भनिएको छ ।

उनले पार्टी समस्यामा पर्नुको मुख्य जिम्मेवारी मूल नेतृत्वको रुपमा प्रचण्डले लिनुपर्ने जिकिर पनि गरेका छन् । प्रचण्डको नेतृत्वमा पार्टी विचार शून्यताको अवस्थामा भएको जिकिर पनि शर्माको छ ।

“तथ्यप्रति अनदेखा गर्दै बुझेर पनि नबुझे झैं गरियो । फलतः समाजवादको उद्देश्य र नवउदारवादी नीति योजनाबीच ठूलो खाडल हुन्थ्यो नै, भयो त्यही । पार्टीमा वैचारिक अन्यौलताको मूल जरा यही हो”, उनले भनेका छन् ।

शर्माले आफ्नो प्रस्तावमा पार्टी निर्माण हुन नसक्नुका कारणबारे चर्चा गरेका छन् । “माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ, न सङ्गठन छ, केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ”, उनले प्रस्ताव भनेका छन्, “हाम्रा एजेन्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ, सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट