काठमाडौं । छोरीको संघर्ष र महत्त्वलाई समेटेर फिल्म ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताइन् । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको दाबी गरिन् ।
‘फिल्ममा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ, म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुश गरेँ, फिल्म कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ’, अभिनेत्री महतले भनिन् ।
पत्रकार हुँदै फिल्म निर्देशक बनेका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गरे । नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले फिल्मको कथा पढेर मात्र निर्णय दिने बताएकी स्मरण गरिन् ।
अभिनेत्री महतले भनिन्, ‘मैले उहाँ (निर्देशक सुवेदी)लाई नजिकबाट चिनेकी थिइन्, त्यसैले पहिला कथा पढेपछि भेटौँ भनेँ, मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ, म काठमाडौंमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ, यो हरेक ठाउँको कथा हो ।’
‘सतीदेवी’लाई छोरीको दृष्टिकोणबाट भनिएको कथा मान्छिन् । ‘यो महिला प्रधान फिल्म हो,’ उनले अघि भनिन्, ‘छोरा र छोरीबीचको भेदभावको कथामा फिल्म बनाएका छौं । यो हाम्रो समाजको यथार्थ कथा हो । त्यसलाई छोरीको दृष्टिकोणबाट देखाइएको छ ।’
निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही भिडियो हेरेपछि अभिनेत्री महतलाई फिल्ममा शीर्ष भूमिकामा लिने निर्णय गरे । उनले भनिन्, ‘मैले अभिनेत्री महतलाई विभिन्न भिडियोमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ, त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो ।’
उनले केही वर्षअगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देखेको रहेछ । त्यहीँ देखाइलाई उनले फिल्मको कथामा रुपान्तरण गरे ।
‘मेरो पनि छोरीमात्र छन्, तर समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ, यो फिल्मले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ, सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको संघर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो,’ निर्देशक सुवेदीले भने ।
फिल्ममा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गरेका छन् । फिल्म भदौ ७ गतेदेखि प्रदर्शन हुँदै छ ।