काठमाडौं । काठमाडौं महानगर ८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका १२ घर भई यतै बस्दै आएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७० हजार रूपैयाँ र १६ बुक ताससहित शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसमेत रहेका छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको जनाइएको छ ।
काठमाडौं महानगर ८ गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ४१ वर्षीय महतसमेत हरेका छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।