सेयर बजार कारोबारमा बन्यो कीर्तिमान, नेप्सेमा परिसूचक ९४ अंकले वृद्धि-Sutra News

सेयर बजार कारोबारमा बन्यो कीर्तिमान, नेप्सेमा परिसूचक ९४ अंकले वृद्धि

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकमको कारोबार भएको छ । नेप्से परिसूचकमा उल्लेख्य वृद्धि हुँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।



आज नेप्से परिसूचक ९४ दशमलव ५३ अंकले बढेर दुई हजार ८६० दशमलव ९१ को विन्दुमा पुगेको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । ३३० कम्पनीको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर दुई लाख ७५ हजार २०७ सात पटक खरिद बिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ ।

बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट