शेखरले देउवासँग किन खोजे महाधिवेशनको सुनिश्चितता ?-Sutra News

शेखरले देउवासँग किन खोजे महाधिवेशनको सुनिश्चितता ?

आइतबार, २७ साउन २०८१

आइतबार, २७ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा महाधिवेशन हुने सुनिश्चितता गर्न माग गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले २०८२ मंसिरमै महाधिवेशन गर्ने सुनिश्चितता खोजेका हुन् ।



“मेरो आग्रह, सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ, पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ”, उनले भनेका छन्, “१४ औ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्।”

समयमै महाविधेशन हुन नसकेको खण्डमा पार्टी दुर्घटनातर्फ जाने भन्दै उनले सचेत गराएका छन् । “यो या त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ, ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस्”, बैठकलाई सम्बोधनका क्रममा उनले भनेका छन् ।

पार्टीमा बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनशायबाट आफूले यस्तो सुनिश्चितता खोजेको कोइरालाले बताएका छन् । उनले कार्यतालिका बनाएरै तयारीमा जुट्नुपर्ने माग गरेका छन् ।

“मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयबाट यो कुरामा जोड दिइरहेको छु, म क्रियाशील सदस्यता वितरण र महाधिवेशनको लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु”, कोइरालाले भनेका छन् ।

असार १७ मा भएको सहमतिअनुसार अबको दुई वर्षसम्म अर्थात् २०८३ असारसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको बाँकी अवधि अर्थात् २०८३ असारदेखि २०८४ मंसिरसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

“राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष माननीय श्री केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसीरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने”, सात बुँदे सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ ।

कार्यतालिकाअनुसार गएमा नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी २०८२ मंसिरमा गर्नुपर्ने हुन्छ । तर, ७ बुँदेअनुसार आफू प्रधानमन्त्री बन्न देउवाले महाधिवेशनलाई रोक्न सक्छन् वा विभिन्न बाहानामा लम्ब्याउन सक्छन् । इतर पक्षमा अहिले सोही विषयलाई लिएर चिन्ता देखिन्छ ।

१४औं महाधिवेशनमा देउवालाई विस्थापित गर्न सक्रिय बनेको इतर समूह जसरी पनि १५औं महाधिवेशनबाट विस्थापित गर्ने योजनामा छ । यस्तोमा महाधिवेशनबाट विस्थापित भएको बखत देउवा प्रधानमन्त्री बन्न पाउने वा नपाउने, अर्को दुविधा देखिन्छ । महाधिवेशन अगाडिसम्म संगठन आफू अनुकुल भएको कारण देउवाले प्रतिकुल हुने गरी निर्णय गर्ने सम्भावना कम देखिन्छ ।

इतर पक्षको यही आशंकालाई लिएर नै संस्थापन पक्षीय कतिपयले नेताहरुले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न षडयन्त्र गरिएको भन्दै बैठकमा विरोध जनाएका थिए । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका सार्वजनिक अभिव्यक्तिलाई लिएर नेताहरु विरोधमा देखिएका छन् । सोही घटनाकै बीच कोइरालाले मितिको सुनिश्चितता खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट