उत्तरार्धमा संकटले घेरिए प्रचण्ड-Sutra News

उत्तरार्धमा संकटले घेरिए प्रचण्ड

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । साउन १४ मा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले राखेको प्रस्तावले निकै तरङ्ग ल्याएको थियो । उनले उक्त बैठकमा लिखितरूपमै पार्टी दुरावस्थाको जिम्मेवारी लिँदै सामूहिक राजीनामाको प्रस्ताव गरेका थिए ।



विधानविपरित पार्टी अगाडि बढेको र पार्टीको दुरावस्था यहीँबाट सुरु भएको विश्लेषण गजुरेलको छ । “हामीमध्येमा २० र १९ को फरक होला, खासै फरक छैन, हामीलाई राष्ट्र, जनता र पार्टीको भन्दा आफ्नै चिन्ताले सताइरहेको छ, पार्टीलाई यो दुर्दशामा पुर्‍याएको हामी सबैको काम–कारबाहीले हो, यसर्थ यसको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा अध्यक्षमार्फत स्थायी समितिसमक्ष पेस गरौं”, गजुरेलले बैठकमा राखेको प्रस्तावमा भनिएको छ, “त्यसपछि स्थायी समितिको विस्तारित बैठक (प्रदेश अध्यक्षसहितको) बोलाऔँ, विभिन्न लेयरमा औपचारिक र अनौपचारिक बहसको संश्लेषण गरेर केन्द्रीय समितिको विस्तारित बैठकबाट औपचारिक निर्णय गरौँ, यो निरन्तरतामा क्रमभङ्ग हुनेछ, पार्टीमा जीवन्त छलफलका सुरुवात हुने परिवेश बन्नेछ ।”

गजुरेलले पदाधिकारी बैठकमा जे–जसरी प्रस्ताव राखे, अहिले चलिरहेको स्थायी समिति बैठकमा पनि सोही कोणबाट छलफल चलिरहेको छ । साउन २५ गतेदेखि जारी बैठकमा विशेषगरी नीति र नेतृत्वमाथि नै चर्चा केन्द्रित भएको छ ।

बैठकमा कतिपयले लिखितरूपमा प्रस्ताव पेस गरेका छन् त कतिपयले मौखिकरूपमा आफ्ना धारणा राखेका छन् । सारांशमा नीति र नेतृत्व फेरेर नै अगाडि बढ्नुपर्ने नेताहरूको धारणा छ ।

प्रचण्डविरुद्ध केन्द्रित प्रस्ताव

आइतबारसम्म ४३ स्थायी समिति सदस्यमध्ये २६ जनाले बोलिसकेका छन् । जारी बैठकमा विशेषगरी अहिले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको प्रस्तावमाथि छलफल केन्द्रित बनेको छ ।

बैठकमा उपमहासचिव शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको लिखित प्रस्ताव राखेका छन् । शर्माले आफ्नो प्रस्ताव अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्वबाट बाहिरिन सुझाएका छन् ।

“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न, बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने वा अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने”, उनले आफ्नो प्रस्तावमा भनेका छन् ।

साथै, उनले पार्टीको नाम, नीति र चुनाव चिन्ह समयानुकूल परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् । आन्दोलनको एउटा चरण पूरा भएको सन्दर्भमा पार्टीभित्र ‘¥याडिकल परिवर्तन’ आवश्यक रहेको प्रस्ताव शर्माको छ ।

अर्का उपमहासचिव पुनले पनि शर्माकै प्रस्तावअनुकुल हुने गरी आफ्नो प्रस्ताव अगाडि सारेका छन् । उनले अविच्छिन्न नेतृत्व गरिरहेका प्रचण्डलाई नेतृत्वबाट बाहिरिन सुझाएका छन् ।

“एउटै पात्र निरन्तर नेतृत्वमा रहिरहने कुरा वैज्ञानिक छैन, अब यसो हुनु हुँदैन”, स्थायी समिति बैठकमा पुनले राखेको मौखिक प्रस्तावबारे एक नेताले भने, “अब एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ, नेतृत्वलाई सम्मानपूर्वक बिदा गर्ने व्यवस्था गरौँ ।”

माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताएअनुसार आइतबार बैठकमा उपमहासचिवद्वय जस्तै बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अर्का उपमहासचिव शक्ति बस्नेत, सचिव हितमान शाक्य, स्थायी समिति सदस्यहरू ओनसरी घर्ती, कालीबहादुर मल्ल, उर्मिला अर्याल, शशि श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, कमला रोका, महेश्वरजंग गहतराज, प्रल्हाद बुढाथोकी, हकिकुल्ला खान, जयपुरी घर्ती र जोखबहादुर महराले पनि नीति र नेतृत्व फेर्नुपर्ने धारणा राखेका छन् ।

३५ वर्षपछि दरिलो प्रश्नको सामना

३५ वर्षदेखि प्रचण्ड अविछिन्नरुपमा पार्टीको नेतृत्वमा छन् । शान्तिपूर्ण काल होस् वा युद्धकाल होस् वा फेरि शान्तिपूर्ण कालमा नै किन नहोस् उनी अविच्छिन्न नेतृत्वमा स्थापित छन् ।

योबिचमा धेरै पटक, धेरै नेताहरूले प्रचण्डको विकल्प खोजे तर, उनीहरू स्वयम् विस्थापित हुँदा प्रचण्ड भने नेतृत्वमा कायमै रहिरहे ।
“विगतमा मोहनविक्रम सिंहदेखि, मोहन वैद्य किरण, बाबुरामसम्म यस्ता विषय उठिरहेका हुन्”, ती स्थायी स्थायी समिति सदस्य भन्छन्, “तर, ती सबै विस्थापित भए ।”

यद्यपि, अहिले प्रचण्डका निम्ति आन्तरिक र बाह्य दुवै कोणबाट सहज देखिन्न । एकातिर राष्ट्रिय राजनीतिमा माओवादी निकै नै कमजोर अवस्थामा आइपुगेको छ भने अर्कोतिर पार्टीभित्रै पनि उनी विरोधी कित्ता निकै नै बलियो बनेको छ ।

“पार्टीलाई यदि रिफर्म गर्ने हो भने प्रचण्डबाट सम्भव छैन, त्यसको विकल्प खोजिनै पर्छ” भन्ने बुझाई माओवादीभित्र जबरजस्त देखिन्छ । नेताहरूले खुलेरै पहिलो पटक प्रचण्डका विरुद्ध बोलेको पनि ती सदस्यले बताए ।

माओवादीभित्रको राजनीतिलाई नजिकबाट नियालेका वामपन्थी विश्लेषक मुकुन्द आचार्य पनि प्रचण्डले पार्टी सत्ता गुमाउने अवस्था निश्चित देखिएको बताउँछन् ।

“अहिलेका बैठकहरू हेर्दा, प्रचण्ड अब टिकिरहलान् जस्तो देखिन्न, उनीविरुद्धको मोर्चाबन्दी निकै बलियो बनिसकेको छ”, उनले भनेका छन्, “उनकै विश्वासपात्र मानिने नै विपक्षमा उभिएका कारण सायद अब छिट्टै प्रचण्ड बाध्यात्मक बर्हिगमनमा पर्न सक्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट