काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘नम्बरी सुन’ फिल्मले दर्शकलाई लोभ्याउन अनेक उपाय गरे पनि हलसम्म तान्न सकिरहेको छैन । अझ भनौँ फिल्ममा ओजनदार टाइटल राखेर आफैलाई भारी परेको देखिन्छ ।
समय फेरियो । फिल्मका दर्शक फेरिए । दर्शकको बुझाई फेरियो । फिल्म हेर्ने नजर फेरियो । अनि फिल्म पनि फेरिए । फिल्मका कथा फेरिए । कथा भन्ने शैली फेरियो । अभिनयको ढाँचा पनि फेरियो । तर, कसैले फेरि उही समय फर्काउँछु, शैली र टेस्ट फर्काउँछु भने त्यो कति सम्भव होला ?
सम्झिएर नोस्टाल्जिक हुनु बेग्लै कुरा हो । दर्शकले पत्याइदिनु अर्को कुरा होला । अर्को पाटोमा दर्शकलाई जुन फिल्मले छुन सक्यो त्यही फिल्म हेर्छन् । यो विश्वव्यापी मनोविज्ञान हो । पछिल्लो समय यहीअनुसार फिल्म चलिरहेका छन् ।
पछिल्लो समय नेपाली फिल्म चल्न कन्टेन्ट मजबुत हुनुपर्ने देखिँदै आएको छ । जति बहस र फण्डाबाजी गरे पनि दर्शक हलसम्म नआउनुको मुख्य कारण फिल्मले आकर्षित गर्न नसक्नु नै हो । दर्शकले ट्रेलरबाटै फिल्म कस्तो बनेको छ ? भन्ने भाव बुझिसकेका हुन्छन् । ट्रेलरमा कुनै मुद्दा भेटिएन वा नयाँ कथाको सुगन्ध नपाए दर्शकले फिल्म हेर्नु पर्ने चासो राख्दैन् ।
सुरुवाती दिनमा हिरो वा स्टारको नाम जोडिँदा फिल्म चल्नु र नचल्नुमा ठूलो अर्थ राख्दै आएको थियो । अहिले जमाना फेरिएको छ । कन्टेन्टले हिरो जन्माइरहेको छ । कलाकार बिकाइरहेको छ । दर्शकहरू फिल्ममा नयाँ विषय, घटना, पात्र खोजिरहेका छन् । साथै त्यस्ता विषय, घटना वा पात्रलाई कत्तिको गहिरो ढंगले पस्किइएको छ ? भन्ने चासोका साथ हेरिन थालिएको छ ।
नेपाली फिल्म बजारमा दर्शकको चित्त बुझाउन नसकिरहेको अवस्थामा फिल्ममेकर पुरानै बाटो हिँडेको भान हुन्छ । अर्थात, बच्चालाई चकलेट दिएर फकाएजस्तै दर्शक फकाइरहेका छन् । यसैमा थपिएको फिल्म हो- ‘नम्बरी सुन’ ।
यही शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म निर्माण टिमले महंगो सुनकाे उपहार दिने भन्दै सस्तो प्रचार गर्नसमेत पछि परेन । तर, सस्तो प्रचारमा दर्शक लोभिएनन् । प्रदर्शनको चौथोँ दिनसम्म आइपुग्दा हलमा नम्बरी सुनको अवस्था नाजुक रहेको छ । हलका काउन्टरमा सुनको गहना नै राखेर प्रचार गरिरहेका निर्माण पक्षले अन्तत: फिल्मको प्रचार गर्न भुलेको जस्तो देखिन्थ्यो ।
उसो त नेपाली बजारमा एक तोला सुनको मूल्य डेढ लाखमाथि पुगेको छ । यो हिसाबले हेर्ने हो भने ६ सय जनाले २५० रुपैयाँको दरमा फिल्म हेर्दा एक तोला सुन खरिद गर्न सक्दछ । यो हिसाबले हेर्ने हो भने फिल्म निर्माण पक्षले १२ जनालाई उपहार दिने भनिएको सुन किन्न कति सम्भव छ ? यसका लागि दर्शको संख्या ठूलो मात्रामा आवश्यक हुन्छ । जुन अहिलेसम्म फिल्म हेर्न पुगेका छैनन् होला ।
सुन उपहार रिलिज भएको दिनमै फिल्म हेर्ने दर्शकलाई दिन्छु भनेर निर्माण पक्षले दर्शकको मस्तिष्कमा डेरा जमाउन खोजिरहेको थियो । तर, यो आफैमा असम्भव बन्यो ।
त्यसो त, यो फिल्मका निर्देशक राजु गिरीका अघिल्ला फिल्मले दर्शक तान्न सकेनन् । नम्बरी सुन प्रदर्शन भएको नौ दिनअघि उनैले निर्देशन गरेको फिल्म ‘ईश्वर’ प्रदर्शनको दुई दिनमै हलबाट बाहिरिएको थियो ।
यसरी हेर्दा ‘नम्बरी सुन’का सार्वजनिक भएका सामाग्रीले समेत दर्शकको मन जित्न सकेको थिएन । फिल्ममा नाम चलेका कलाकारहरू अगाडि हुनु र फिल्मप्रति दर्शकको आकर्षण नहुनुले निर्माण पक्षलाई ठूलो धक्का लागेको छ ।
यस फिल्मका वितरक करण श्रेष्ठ (क्रेजी)सँग हामीले बक्सअफिसबारे कुराकानी गर्दा उनले न हिट न फ्लप भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले सोचे अनुसार फिल्मको व्यापार भएको छैन । हिट भनौँ हिट सक्दैन, फ्लप भनौँ फ्लप भएको छैन । यसमा निर्मातालाई नाफा हुने आशा न्यून रहेको छ,’ उनले भने ।
फिल्ममा नम्रता, गौरव र विनोदका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ । फिल्ममा शिवम अधिकारीको कथा एवं पटकथा छ। फिल्मका निर्माता सरोज खाती, सविन खाती, मनोज रिजाल हुन् ।