काठमाडौं । नायिका बेनिशा हमालको व्यस्तता पछिल्लो समय निकै बढेको छ । उनको व्यस्तताको कारण हो हतमा धेरै फिल्म हुनु ।
अभिनय करिअरको एक दशकभन्दा लामो अवधिमा बेनिशाले पहिलो पटक ‘छक्का पञ्जा ४’ हिट फिल्म भेटाएकी थिइन् । यो फिल्मको सफलताले उनको करिअरलाई नै पूर्नजीवन दियो । अहिले उनलाई फिल्मका लागि समय मिलाउन हम्मेहम्मे परिरहेको देखिन्छ ।
बेनिशाको हातमा आधा दर्जन फिल्म छन् । उनले साइन गरेर लाइनअपमा रहेका फिल्ममा ‘एक्लो’, ‘कल्ली’, ‘बिजुली’, ‘भाँडाकुटी’, ‘कोत पर्व’ छन् भने हालै अर्को नयाँ फिल्म ‘मोहर’ साइन गरेकी छन् ।
‘मोहर’लाई ओम प्रतीकले निर्देशन गर्ने भएका छन् । यसअघि यो फिल्ममा पल शाह, अर्जुनजंग शाही र नीति शाह फाइनल भइसकेका छन् ।
मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा ओम प्रतीककै लेखन छ । फिल्मलाई सुमनजंग शाहीले निर्माण गर्दैछन् । निर्माणपक्षका अनुसार यो फिल्म माघदेखि छायांकनमा जानेछ ।
यता, पल र बेनिशाले दोस्रो पटक फिल्ममा सहकार्य गर्दै छन् । उनीहरुले ‘कल्ली’पछि ‘मोहर’मा सहकार्य गर्न लागेका हुन्।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्ने ‘कल्ली’ मा पल र बेनिशा मुख्य भूमिकामा हुनेछन् । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने चफिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद छ ।
यो फिल्म चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।
यसैगरी, यस वर्ष बेनिशाले आफ्नो हिन्दी डेब्यु फिल्म ‘दुर्गम’को छायांकनमा समेत समय दिनेछिन् । यो फिल्मको केही प्रतिशत काम बाँकी रहेको बुझिएको छ ।