२९ सयमाथि नेप्से, कारोबार रकममा फेरि नयाँ रेकर्ड-Sutra News

२९ सयमाथि नेप्से, कारोबार रकममा फेरि नयाँ रेकर्ड

सोमबार, २८ साउन २०८१

सोमबार, २८ साउन २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) २९ सयको बिन्दुमाथि उक्लिएको छ । आइतबार ९४.४६ अंकले बढ्दै २८६०.८४ को बिन्दुमा उक्लिएको नेप्से सोमबार ७०.८१ को अंकले बढ्दै २९३१.६५ को बिन्दुमा उक्लिएको हो । समग्रमा नेप्से २.४७ प्रतिशतले बढेको छ ।



उछालपूर्णरुपमा बढेको नेप्सेले कारोबार रकममा पनि नयाँ किर्तिमानी कायम गरेको छ । ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ अर्ब २४ करोड २० लाख रुपैयाँको भयो । यस दिन ३३९ कम्पनीको सेयर किनबेच भएको छ ।

यस दिन कारोबारमा लगानी र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बाहेक सबैमा हरियाली छायो । सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ५.८५ प्रतिशतले बढ्यो ।

बैंकिङ २.९५, विकास बैंक ३, वित्त ४.८१, होटल तथा पर्यटन २.९४, जलविद्युत् ३.४३, लघुवित्त १.०८, म्युचुअल फन्ड ०.९३, निर्जीवन बीमा २.९७, अन्य समूह १ र व्यापार ४.१३ प्रतिशतले बढ्यो ।

आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशि हाइड्रोपावर, रसुवागढी हाइड्रो, स्वेत गंगा हाइड्रोपावर, शुभम् पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।

आज हिमालयन रि इस्यारेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा र हिमालयन लाइफ इन्स्योरेन्स कारोबार रकममा आधारमा अग्र स्थानमा रहे । हिमालयन रिको १२ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब २२ करोड ८० लाख रुपैयाँको भयो ।

नीतिगत सुधारपछि सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएको छ । जसको प्रभाव बजारमा कारोबार रकम सँगै इन्डेक्स पनि उत्साहपूर्णरुपमा बढिरहेको छ ।

देखिएको उत्साह कायमै रहेमा बजारले छिट्टै यसअघिको रेकर्डलाई ब्रेक गर्ने अनुमान लगाउन गाह्रो छैन । कतिपय बजार विश्लेषकका अनुसार कारोबार रकममा जस्तै इन्डेक्सले पनि नयाँ किर्तिमानी बनाउने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट