काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । सोमबार दिउँसो ३ः४८ बजेदेखि एनसेलका सबै सेवा अवरुद्ध भएको हो ।
एनसेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सेवा रोकिनुमा प्राविधिक कारण भएको जनाएको छ । छिट्टै समस्या समाधान गर्नेगरी पहल भइरहेको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत सेवा अवरुद्धप्रति क्षमा माग्दै एनसेलले लेखेको छ, “ यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जानकारी गराउन चाहन्छौं ।”
एनसेलको सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका छन् । थुप्रै प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । यद्यपि, एनसेलले सेवा अवरुद्ध हुनुको ठोस कारण खुलाएको छैन ।