हाम्रा आमाबाबुले हामीलाई बाल्यकालदेखि नै बलियो बनाउन सक्दो प्रयास गर्छन्, यसका लागि हामीलाई स्वस्थ आहार पनि दिइन्छ, जसले गर्दा हाम्रो हड्डी र शरीर बलियो हुन्छ । तर, जब हामी ४० वर्ष पुग्छौं, हड्डीहरू कमजोर हुन थाल्छन्, त्यसैले यसकाे सुरक्षा निकै नै महत्वपूर्ण छ ।
हामीले यसका लागि केही उपायहरू गर्नु अनिवार्य छ । हड्डी कमजोर भएमा शरीरका धेरै भागमा पीडा हुन थाल्छ र दैनिक जीवनका सामान्य काम गर्न गाह्रो हुन्छ ।
आउनुहोस्, पोषणविदबाट ४० वर्ष पुगेपछि पनि हाम्रो हड्डी कमजोर हुन नदिन के गर्नुपर्छ भन्नेबारे जानाैं ।
१. क्याल्सियमयुक्त आहार लिनुहोस्
हड्डी बलियो बनाउनको लागि क्याल्सियमयुक्त आहार लिनु निकै आवश्यक छ । यसले हाम्रो शरीर बलियाे बनाउन मद्दत गर्छ ।
यसको कमी भएमा शरीर दुख्न थाल्छ । यसका लागि दूध, चिज, बीउ, सालमन माछा, सार्डिन माछा, सिमी र दालको सेवन गर्न सक्नुहुन्छ।
२. भिटामिन डीकाे मात्रामा ध्यान दिनुहाेस्
भिटामिन डी शरीरको लागि क्याल्सियम जस्तै महत्त्वपूर्ण छ। यदि तपाइँ सही मात्रामा क्याल्सियमयुक्त खानाहरू खाँदै हुनुहुन्छ भने, भिटामिन डी बिना तपाइँ यो पोषक तत्व अवशोषित गर्न सक्षम हुनुहुन्न।
शरीरमा भिटामिन डीको कमी भएमा हड्डीको घनत्व कम हुन्छ ।
भिटामिन डीलाई ‘सनशाइन भिटामिन’ पनि भनिन्छ, त्यसैले तपाईंले दिनको कम्तिमा १५ देखि २० मिनेटसम्म घामको किरणमा जानुपर्छ। यद्यपि, यो पोषक तत्व खानामार्फत पनि प्राप्त गर्न सकिन्छ।
३. प्रोटिनयुक्त खानेकुरा खानुहोस्
हाम्रो हड्डी ५० प्रतिशत प्रोटिनले बनेको हुन्छ, त्यसैले यसलाई बलियाे बनाउन पोषक तत्वहरू धेरै चाहिन्छ । तर, यसको मतलब प्रोटिनयुक्त खानेकुरा धेरै खानुपर्छ भन्ने होइन ।
शरीरमा प्रोटिनको कमी भएमा क्याल्सियमको अवशोषणमा कमी आउँछ र हड्डीको निर्माणमा प्रतिकूल असर पर्छ । यो पौष्टिक तत्व पाउनको लागि अण्डा, मासु र माछा सामान्यतयाः खाने गरिन्छ तर, शाकाहारी मानिसहरुले दाल, भटमास जस्ता चिजहरु खान सक्छन् । एजेन्सीबाट