काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार मुद्दामा सरकारले अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न खोजेपछि विरोध जनाएको छ ।
पार्टीको संसदीय दलको बैठकपछि पत्रकारसँग बोल्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन, भ्रष्टाचारमा हदम्याद राखेर विगतका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ, त्यो स्वीकार्दैनौँ,’ उनले भने ।
यस क्रममा उनले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनु पर्ने बताएका थिए । उनले भने, ‘यो कुरालाई पनि जोडतोडले उठाउँछौँ, बक्यौताको विषयमा अरु जे भए पनि राज्यले उठाउनु पर्ने बक्यौता उठाउनु पर्छ ।’
यसबाहेक सदन र समितिमा भएका विधेयकहरूको विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।