फिल्म ‘रावायण’को टाइटल गीत सार्वजनिक, सुदर्शनको केमियो नृत्य-Sutra News

फिल्म ‘रावायण’को टाइटल गीत सार्वजनिक, सुदर्शनको केमियो नृत्य

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘रावायण’को टाइटल गीत ‘रावायण’ सार्वजनिक भएको छ । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्मको सार्वजनिक गीतमा नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड छन् ।



सार्वजनिक गीतमा बलिउड गायक नकाश अजिजको स्वर छ। गीतका शब्द कृष्णहरी बरालले लेखेका हुन् भने संगीत रेवान आरती सिंहको छ।

विक्रम स्वारको कोरियोग्राफी रहेको ताण्डव नृत्य गीतको भिडियोमा पल, पूजा र सुदर्शनले खुलेर नाचेका छन् । भव्य सेट देखिएको गीतको अन्त्यतिर निर्देशक सुदर्शनको केमियो नृत्य रहेको छ ।

ताण्डव नृत्य र अरु नृत्यमा भिन्नता छ । अरु नृत्यमा अनुशासनका साथै ताल र सुरको आवश्यकता पर्छ । ताण्डव नृत्य स्वतन्त्र र उन्मुक्त हुन्छ । यो नृत्यमा कुनै बन्धन र सिमा हुँदैन । खुलेर मस्त तरिकाले नृत्य गरिन्छ । यसलाई नै ताण्डव नृत्यको सामान्य आधारभूत सिद्धान्त भनिन्छ । भगवान शिवले स्वतन्त्र रूपमा खुलेर नाच्नु भएको थियो भन्ने अर्थमा ताण्डव नृत्य नाम दिइएको हो। तर, भिडियो हेर्दा फिल्मका कलाकारहरु सिद्धान्त र सिमाभित्र रहेर ताण्डव शौलीमा नृत्य गरेको देख्न सकिन्छ ।

फिल्मको निर्माणपक्षले केही समय एक्सनपूर्ण टिजर रिलिज भएसँगै पलको एक्सन अवतारले तारिफ पाइरहेको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा हुन् । सुशन पाठक कार्यकारी निर्माता हुन् ।

एक्सनप्रधान फिल्ममा पल र पूजासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । यो फिल्ममा पलले दोहोरो भूमिका निर्वाह गरेका छन्।

सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन रहेको फिल्ममा प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट