सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो-Sutra News

सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । लगातार बृद्धिका बीच साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा करेक्सन आएको छ । मंगलबार ८.१८ अंकले घट्दै नेप्से २९२३.४६ को बिन्दुमा झरेको छ । समग्रमा नेप्से ०.२७ प्रतिशतले घटेको छ ।



इन्डेक्समा करेक्सन आउँदा मंगलबार कारोबार रकम पनि निकै खुम्चिएको छ । यसअघि सोमबार २७ अर्ब २४ करोडको कारोबार भएको नेप्सेमा मंगलबार भने झण्डै ६ अर्ब कम २१ अर्ब ५१ करोडको कारोबार भएको थियो । यस दिन पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको हो ।

यस दिन कारोबारमा आएका २४३ कम्पनीमध्ये ८० कम्पनीको मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको भने स्थिर रह्यो ।

यस दिन केही ५ समूहको सूचक बढ्यो भने ८ समूहको सूचकमा करेक्सन आयो । बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे भने विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशतले घटे ।

करेक्सन आएपनि मंगलबार मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । यस्तै, विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य ९.७ र शुभम् पावरको मूल्य ९.६ प्रतिशतले बढ्यो ।

यसदिन नेपाल फाइनान्सको मूल्य भने ९.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा पनि मंगलबार नेपाल फाइनान्स अग्रस्थानमा रह्यो । ३ लाख ६० हजार ९ सय कित्ता किनबेच हुँदा नेपाल फाइनान्सको कारोबार रकम ८१ करोड ९९ लाख ४० हजार रुपैयाँको भयो ।

निरन्तर बृद्धिका बीच मंगलबार नाफा बुक गर्न केही लगानीकर्ता उत्साहित हुँदा नेप्से घटेको हो । नेप्से पछिल्लो ४ कारोबार दिनदेखि लगातार उकालोमा थियो । पछिल्लो ४ कारोबार दिनकै बीचमा नेप्सेमा २८०.३३ अंकले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट