काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत बक्यौता असुलीमा तलमाथि हुन नहुने बताएका छन् । मंगलबार बसेकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यस्ताे बताएका हुन् ।
उनले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा टेकेर अनुसन्धान गर्नुपर्ने, सर्वोच्च अदालतले दिएको आदेशअनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानूनअनुसार असुल गर्नुपर्ने बताएका हुन् । उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारलाई सदनमा स्पष्ट पार्न आग्रह गरेका छन् ।
‘भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्ने होइन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ थापाले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसलाई कारबाही गर्नुपर्यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो ।’
थापाले ठूला दुइ दल कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले जनताले चाहे जस्ताे सेवा प्रवाह गर्नैपर्ने बताए । ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो एउटा जोखिम पनि हो। यसले डेलिभरी गर्नैपर्छ,’ उनले भने, ‘यसले आफूले गरेका बाचा पूरा गर्नैपर्छ। त्यो बाचा पूरा गर्न भित्रैबाट हामी मद्दत गर्न चाहन्छौं।’
थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको भन्दै आलोचना गरे । मन्त्रीहरूलाइ कामतर्फ ध्यान दिन थापाको आग्रह छ ।
‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ,’ थापाले भने, ‘साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’