काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेसनलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि नौ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेसनल प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा नौ दशमलव ९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीयबाहेकको अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
बैकले हाल देशभर एक सय तीन वटा शाखा कार्यालयमार्फत करिब सात लाख ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
साथै, बैंकको २०८० पुस २८ गते सम्पन्न भएको २२औं वार्षिक साधारणसभाले विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित गरेको बैंकले जानकारी दिएको छ ।