काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको जनसंख्या कम भएको बताउँदै चिन्ता व्यक्त गरेका छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका हुन् ।
यस क्रममा उनले मुलुकको जनसंख्या न्यून रहेकाले २० वर्षको आसपासमा विवाह गरेर छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।
उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेको बताउँदै आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको बताए ।
देशमा रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिने क्रम चलेको भन्दै प्रधानमन्त्री ओलीले हाल जनसङ्ख्या वृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरेका हुन् ।
यस्तै, उनले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नु पर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिएकाले कोही अभिभावकविहीन भएर सडकमा बस्न नपर्ने स्पष्ट पारे ।
‘बालबालिका सडकमा हुनु हुँदैन, खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ, सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, हाम्रा बालबच्चाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन, सरकारले त्यसको जिम्मा लिनु पर्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले देशमा एक वर्षमा पाँच लाख रोजगारी आवश्यक पर्ने बताउँदै यसका लागि सरकारले गहन रुपमा सोचेको जानकारी दिए ।