काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच विगतमा असाध्यै विश्वासको सम्बन्ध थियो । त्यही विश्वासकै सम्बन्धका बीच प्रचण्डले शर्मालाई पार्टीभित्र र बाहिर पनि निरन्तर अवसर दिइरहे ।
प्रचण्डकै रोजाइमा शर्माले पार्टीभित्र मात्रै होइन, बाहिर पनि निकै महत्वपूर्ण जिम्मेवारी पाइरहे । शर्माले पाएको राजकीय अवसरको सूची असाध्यै लामो छ ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएलगत्तै मन्त्री हुन पाउने शौभाग्य शर्माले पाएका थिए । उनले पहिलो संविधान सभा निर्वाचनपछिको सरकारमा निकै महत्वपूर्ण मानिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्व पाएका थिए ।
त्यसयता डेढ दशकको अवधिमा शर्माले पाँच मन्त्रालय चाहिरिसकेका छन् । गृहदेखि अर्थसम्मको नेतृत्व गर्ने अवसर शर्माले पाएका छन् । शर्माका निम्ति अब पाउनुपर्ने अवसर निकै कम छन् ।
प्रचण्डकै निकट हुँदा माओवादीभित्र असाध्यै राजकीय अवसर पाउने समूहको अग्रपंक्तिमा पर्ने शर्मा पछिल्लो समय भने निकै नै प्रचण्डविरोधी भएर प्रस्तुत भएका छन् । माओवादीभित्रको करिब साढे दुई वर्षको राजनीतिक घटनाक्रमलाई समीक्षा गर्दा, शर्मा जत्तिको प्रचण्डविरोधी कोही छैनन् ।
विशेषगरी २०७८ पौसमा भएको महाधिवेशनसँगै शर्मा प्रचण्डको कटु आलोचक भएर उभिएका छन् । महाधिवेशनमा शर्मा महासचिवको दाबेदार थिए । तर, प्रचण्डले शर्माको ठाउँमा देव गुरुङलाई अघि सारे ।
जुन घटनापछि शर्मा प्रचण्डको ‘किचन’ टिमबाट मात्रै अलग्गिएनन्, कटु प्रचण्डविरोधी पनि बने ।
त्यसयता प्रत्येक फोरममा उनी प्रचण्डविरुद्ध उभिने गरेका छन् । उनले तत्कालिन महाविशेनमा टिका लाएर पाएको ‘उपमहासचिव’को पदसमेत प्रचण्डसँगको आक्रोशले नै अस्वीकार गरेका छन् ।
शर्माले माओवादीभित्र प्रचण्डकै विकल्प खोज्ने शैलीमा पनि आफूलाई प्रस्तुत गर्ने प्रर्यत्न गरेका छन् । पछिल्लो स्थायी समिति बैठकसम्म आउँदा उनले लिखितरुपमै प्रचण्डविरुद्ध प्रस्ताव बनाए । शर्माले लिखितरुपमा बनाएको १४ पृष्ठको प्रस्तावमा ‘प्रचण्डले पार्टी अध्यक्षको पद छाड्नुपर्ने’ उल्लेख छ ।
शर्माले स्थायी समितिमा राखेको १४ पृष्ठको प्रस्ताव अहिले निकै चर्चामा छ । यद्यपि, शर्माको निष्कर्ष भने अलमल्याउने खालको छ ।
फेरि, नदेखेको विकल्प
शर्माको प्रस्ताव चर्चामा आउनुको मुख्य कारण हो– पार्टी नेतृत्वबाट प्रचण्डको बिदाई । उनले आफ्नो प्रस्तावमा प्रचण्डले पाटी नेतृत्व अरुलाई दिनुपर्ने माग गरेका छन् ।
तर, यहीँ उनको प्रस्तावभित्र अस्पष्टता झल्किन्छ । फेरि पनि शर्माले प्रचण्डलाई नै अवसरहरु दिएका छन् र प्रचण्डकै नेतृत्व खोजेका छन् ।
उनले अबको पार्टी नेतृत्व छनोटको अधिकार पनि प्रचण्डलाई नै सुम्पिन खोजेका छन्, साथै उनले प्रचण्डबाट संरक्षक मात्रै नभई पार्टीको वैचारिक नेतृत्वको खोजी पनि गरेका छन् ।
शर्माको अनौठो अर्को प्रस्ताव छ– सत्ताको नेतृत्व पाएको खण्डमा पनि प्रचण्डले नै नेतृत्व गर्ने ।
“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने वा प्रचण्डको संरक्षकको भूमिका रही वैचारिक प्राधिकरण र सत्ताको नेतृत्व गर्ने”, शर्माको प्रस्तावमा भनिएको छ ।
शर्माले आफ्नो प्रस्तावमा पार्टी अध्यक्ष पदबाट प्रचण्डको बिदाई त खोजेका छन् तर, नेतृत्वबाट प्रचण्डको विकल्प देखेका छैनन् । साथै, उनले आगामी नेतृत्वको लागि पनि प्रचण्डकै आर्शिवाद खोजेका छन् ।
राजनीतिक शक्ति, विचारको आधारमा निर्माण हुन्छ । जसको विचारले संगठन चल्छ, नेतृत्व पनि उसैले गर्ने सामान्य नियम हुन्छ ।
शर्माको प्रस्तावलाई केलाउँदा, उनी आफैंले प्रचण्डभन्दा बाहिर माओवादीको भविष्य देखेका छैनन् ।
शर्माले खोजेको ‘कांग्रेस आई’ मोडल
भारतीय कांग्रेस आई एक दशकदेखि सत्ता बाहिर छ । एक दशकअघिसम्म निरन्तर सत्ताको नेतृत्व गरेको कांग्रेस आई कमजोर मात्रै भएको छैन, सत्ता राजनीतिबाट निकै नै पर पन्छिएको छ ।
निरन्तर सत्ता राजनीतिबाट पाखा पन्छिएपछि कांग्रेस आईभित्र सन् २०१९ को आम निर्वाचनपछि नेतृत्व परिवर्तनको चर्चा चलेको थियो । गान्धी परिवारबाट अन्यमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठेको थियो ।
सोही घटनाक्रमको बीच २०२२ अक्टोबरमा राहुल गान्धीको ठाउँमा मल्लिकार्जुन खड्गे आए । राहुलले २०१९को आम निर्वाचनपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए ।
खड्गे नेतृत्वमा आएसँगै २४ वर्षपछि कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुग्यो । यद्यपि, नाममा पार्टी नेतृत्व गान्धी परिवारबाट बाहिर पुगेपनि पार्टीभित्र गान्धी परिवारकै हालिमुहाली छ । साथै, कुनै पनि सदस्यले गान्धी परिवार बाहिर पार्टीको भविष्य देखेको पाइँदैन ।
पछिल्लो आम निर्वाचनको अभियानलाई हेर्दा पनि, चुनावी अभियानको नेतृत्व खड्गे होइन, राहुल गान्धीले गरेका थिए ।
कांग्रेस आईभित्रको मोडेल शैली माओवादीभित्र शर्माले खोजे त होइन भन्ने प्रश्न उब्जिएको छ । प्रचण्डको विकल्प नदेख्ने तर, बाहिर देखाउन प्रचण्डको ठाउँमा अर्को पात्र उभ्याउने शैलीमा शर्मा देखिएका छन् ।