काठमाडौं । काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ । उनको साथमा रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छन् ।
प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन् ।
लागु औषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो । उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन् ।
ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो ।
बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ । तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए । होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए ।
एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए । दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए ।