फूलपातीमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त, थपिँदै हलिउड, बलिउड र साउथ-Sutra News

फूलपातीमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त, थपिँदै हलिउड, बलिउड र साउथ

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । यो वर्षको दशैंको फूलपातीमा नेपाली र विदेशी फिल्मबीच चर्को भिडन्त हुने देखिएको छ । असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ भने दक्षिण भारतीय फिल्म र हलिउड फिल्म पनि प्रदर्शनमा आउने भएका छन् ।



यो मितिमा नेपाली फिल्महरु ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ एकै दिन प्रदर्शन हुने भएका छन् । तमिल सिनेमामा बहुप्रतीक्षित फिल्ममध्ये एक ‘कंगुवा’ र हलिउडको चर्चित फिल्म ‘जोकर’को सिक्वेल ‘जोकर २’ आउने भएका हुन् । यी बाहेक बलिउड फिल्म ‘बदमाश रविकुमार’ पनि दशैंमा रिलिज हुँदैछ ।

‘जोकर २’को एक साता अघि नै प्रदर्शन मिति भएपनि नेपाल वितरण कम्पिनी एप्पल इन्टरटेन्मेन्टले फूलपातीमा रिलिज गर्ने गरी तयारी थालेको वुझिएको छ । अब, वितरकले ‘जोकर २’ र अर्को बलिउड फिल्म ‘बदमाश रविकुमार’लाई नेपाल भित्र्याउँछन् या भित्र्याउँदैनन् हेर्न बाँकी छ ।

यता, विशेषश्रोतका अनुसार दशैंमा ‘उनको स्विटर’ फिल्म रिलिज गर्ने तयारी पनि गरिएको छ तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छ । यसरी हेर्दा यसपटकको दशैंको फूलपातीमा बक्स अफिसमा चर्को भिडन्त हुने देखिन्छ ।

यसपटकको दशैंको फूलपातीमा बक्स अफिसमा चर्को भिडन्त हुने देखिन्छ । मंगलबार बिहानमात्र वसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ले रिलिज डेट घोषणा गरेको हो । यसको निर्माणपक्षले प्रदर्शन मिति सार्वजनिक गर्दै दुईवटा पोस्टर गरेको थियो ।

फिल्मका मुख्य कलाकार फिचर्ड रहेको पोस्टरमा जितु नेपाल र नीति शाह केन्द्रमा छन् । एउटा पोस्टरमा जितु र नीति दुलाहा दुलहीको पहिरनमा छन् । दोस्रो पोस्टरमा दुलाहा बनेका जितु डोलीमा छन् । डोली बुद्धि तामाङ र हिमेश पन्तले बोकेका छन् । डोलीको अगाडि निती पनि छिन् ।

यसैगरी, अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ले मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरमा विराजका छोरा समीर भट्ट देखिएका छन् । सुगठित शरीरसहित सर्टलेस अवतारमा मेशिनगन चलाउँदै गएको अवस्थामा उनलाई देख्न सकिन्छ । पृष्ठभूमिमा भने गाउँको घना बस्ती छ । पोस्टरले नै फिल्म एक्सनले भरिएको प्रष्ट हुन्छ ।

यो फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिसा भट्टराई लगायतका कलाकारको अभिनय छ । फिल्ममा विराज भट्ट नै मुख्य भूमिकामा छन् ।

विराजले फिल्मको टिजर आएपछि दर्शकले यसको मेकिङ र कथावस्तु कस्तो छ भनेर थाहा पाउने बताउँदै आएका छन् । यसपटक, विराजले फिल्मको हरेक पाटोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको वुझिएको छ ।

यता, दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा ५’मा अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा छन् ।

फिल्ममा निर्मल शर्मा, तेज गिरीसहित अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । ‘छक्का पञ्जा’को अघिल्ला चारवटै श्रृंखला सुपरहिट भएका थिए ।

फिल्म घोषणा भएदेखि नै फ्यान प्रतीक्षामा रहेको ‘कंगुवा’ को मंगलबार हिन्दी ट्रेलर सार्वजनिक गरिएको थियो । युद्धबाट सुरु भएको ट्रेलरमा केही आदिवासीलाई देखाइएको छ जो बबी देओलसँग लड्न तयार छन् । यसमा सूर्या साहसी र निर्दयी पात्रमा देखिएका छन् । ट्रेलरमा युद्ध र त्यसले निम्त्याएको विनाश मात्रै देख्न सकिन्छ । ट्रेलरले प्राग ऐतिहासिक मानव र हाम्रो भविष्य दुवैलाई सुन्दर ढंगले चित्रण गरेको छ ।

शिवले निर्देशन गरेको फिल्ममा सुर्या, बबी देओल, दिशा पाटनी, योगी बाबू, प्रकाश राज, जगपति बाबुको मुख्य भूमिका छ। थ्रीडी र आइम्याक्स ढाँचामा रिलिज हुने यो फिल्म ३८ भाषामा प्रदर्शन गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट