काठमाडौं । बलियो लाइनअप रहेको फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाँदैछ । पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो ।
फिल्मको दोस्रो चरणको छायांकनको तयारी गरिएसँगै यतिबेला वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी रहेसँगै निर्देशक कृषा चौलागाईंले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले सौगात र प्रदीप दुई मध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सबल र स्टारडम भएकाले ‘पिताम्बर’को मुख्य पात्र ‘पिताम्बर’को हो ? भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको छ ।
हालसम्म फिल्मको मुख्य पात्र सौगात वा प्रदीपमा को हो ? भन्ने निर्माण टिमले लुकाएको छ । यसलाई निरन्तरता दिने निर्देशक चौलागाईंले बताएकी छन् । अभिनेता प्रदीप खड्का र सौगात मल्ल फिल्मको दोस्रो चरणको सेड्युल सुरु हुन लागेसँगै जोडिएका हुन् । फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।
फिल्ममा प्रदीप र सौगातका अलवा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले फिल्म केही फरक र स्पेसल रहेको संकेत गरेको छ ।
‘पिताम्बर’को पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन भएको थियो ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । फिल्मको निर्मातामा विशाल चौलागाईं छन् ।
प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।