चार अर्ब लगानीमा नेपालमै खुल्याे कजारिया टायल्स उद्योग-Sutra News

चार अर्ब लगानीमा नेपालमै खुल्याे कजारिया टायल्स उद्योग

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडाैं । कजारिया रमेश टायल्सले चार अर्ब रुपैयाँ लगानीमा नेपालमै टायल्स उद्योग सञ्चालनमा ल्याएकाे छ । सोमबारदेखि नवलपरासीमा सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ ।



कजारिया रमेश टायल्स, रमेश कर्प र भारतको टायल निर्माता कम्पनी कजारिया सेरामिक्सको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नवलपरासीमा टायल निर्माण कारखाना स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कारखाना स्थापनासँगै स्थानीय कच्चा पदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

उद्योगले नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलनको पनि उद्घाटन गरेको छ । अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ ।

‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो आधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ ।’

मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रियामा रहेको कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले बताए ।

‘हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धता हो ।’

उद्योगले स्थानीय अर्थतन्त्रलाई विकास गर्नुका साथै रोजगारी सिर्जना गर्ने समेत विश्वास लिएको जनाएको छ ।

कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो । उद्योगमा ५० प्रतिशत कजरिया र ५० प्रतिशत रेमश कर्पको लगानी रहेको बताइएको छ ।उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको बताइएको छ ।

उद्योगका अनुसार एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो प्रोजेक्टमा सह-वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गरेको बुझिएको छ । कजरियाले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट