बेचन झाविरुद्ध कमजोर प्रमाण बनाएर मुद्दा दर्ता-Sutra News

बेचन झाविरुद्ध कमजोर प्रमाण बनाएर मुद्दा दर्ता

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मानिएका बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।



उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु भएसँगै फरार रहेका झालाई प्रहरीले गत असार १४ मा पक्राउ गरेको थियो । सो प्रकरणका अन्य अभियुक्तले दिएको बयानका आधारमा झा नै मुख्य योजनाकार मानिएका थिए ।

उनको पक्राउसँगै यस प्रकरणमा उच्च तहका व्यक्तिहरुको संलग्नता खुल्ने सम्भावना देखिएको थियो । यद्यपि, उनले यस प्रकरणमाथि इन्कारी बयान दिएका छन् । झाले उनलाई आरोप लगाएका अन्य सबै अभियुक्तलाई समेत बताएका छन् ।

साथै, उनले पोलिग्राफ जाँच गराउनसमेत अस्वीकार गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि उनले असहयोग गरेको खुलेको छ । प्रहरीले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन अदालतमा पेश गरेको छ ।

“भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन, म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले उनले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानून्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन”, प्रहरीलाई दिएको बयानमा झाले भनेका छन्, “श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिनँ, उनले के बयान दिएका छन्। मलाई सरोकार छैन। हरिभक्त महर्जनलाई म चिन्दिनँ, मैले उनीबाट कुनै पनि रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन, उनै जानून्।”

विशेषगरी सो प्रकरणका अभिव्युक्तहरु रामशरण केसी, सानु भण्डारी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले बयानमा झाको आबद्धताबारे उल्लेख गरेका थिए । पाण्डेले आफ्नो बयानमा झालाई पक्राउ नगरी प्रकरणको गहिराईमा नपुग्ने बताएका थिए ।

उनीहरुका बयानअनुसार झाले विशेषगरी तत्कालिन सरकार र राजनीतिक नेतृत्वसँग समन्वयको काम गरेका थिए ।

“मैले २०७८र०८र८ गते राति ८ बजे मेरो नामको हिमालयन बैंकको खाताको दुई करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्”, प्रहरीसँगको बयानमा केसीले भनेका छन्, “उनी त्यतिबेला बानेश्वरमा बस्थे। भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८र०८र१३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको छ, उक्त निर्णय गराउन झाले केही रकमहरू मागेका छन् उनलाई चेक काटेर दिनु सो चेक ग्यारेन्टीको लागि मात्रै हो। चेक नदिए काम हुँदैन भनेर मलाई सानु भण्डारीले भनेका थिए।”

यद्यपि, प्रहरीले यतिखेर झाको सो प्रकरणमाथिको इन्कारी बयान बिना नै मुद्दा प्रक्रिया अगाडि बढाएको छ । जसले एकातिर अन्य उच्च संलग्नहरुको विषय टालिने देखिएको छ भने अर्कोतिर उनी पनि छुट्नसमेत सक्ने सम्भावना बढाएको छ ।

यस्ताे छ झाले दिएकाे बयान

मेरो शारीरीक अवस्थामा रूघाखोकी, ज्वरो आई टाउको दुखिरहेको छ। साथै आँखामा समस्या भएको छ, पढ्न लेख्न कठिनाइ भएको छ। मानसिक अवस्था ठिक छ। बयान कार्य गर्न सक्छु। कानुन व्यवसायी राख्न पाउने बारेमा थाहा छ, मैले कानून व्यवसायी राखिसकेको छु। 

मलाई प्रहरी हिरासतमा राख्दा आफन्तसँग भेटघाट गर्न पाइरहेको छु। प्रहरी हिरासतमा अन्य कुनै शारीरीक र मानसिक यातना दिइएको छैन। 

मिसिल संलग्न मिति २०८१/०३/१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसुङ कम्पनीको खरानी रङको मोबाइल, एप्पल कम्पनीको आकाशे रङको मोबाइल, रातो रङको २०२४ लेखिएको डायरीहरू मलाई देखाउँदा देखें र चिनें। उक्त मोबाइल समेत मेरो हो। सो मोबाइलहरू मैले आजभन्दा अं. १ वर्षभित्र खरिद गरी चलाएको हुन सक्छ यकिन मिति थाहा भएन। 

मिसिल संलग्न मिति २०८१/०३/२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स- १, बेचन झा भारत सरकार लेखिएको आधार कार्ड थान १, र बेचन झा आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाई देखाउँदा देखि पाएँ, उक्त पर्स र कार्डहरू मेरो हो, हेरी चिनी सनाखत समेत गरिदिएँ। 

भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन। म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन। 

टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले उनले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानून्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन। 

अडियोहरूमा भएको संवाद मेरो होइन। भिडिओमा देखिएको व्यक्तिहरू को-को हुन् मलाई थाहा भएन। म मेरो आवाज परीक्षण गर्न मन्जुर छु। 

श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिनँ, उनले के बयान दिएका छन्। मलाई सरोकार छैन। हरिभक्त महर्जनलाई म चिन्दिनँ, मैले उनीबाट कुनै पनि रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन, उनै जानून्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट