काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतितिनिधिसभा बैठकमा बोल्दै नेताहरूले आफूले आफूले बोल्ने भाषामा सुधार गर्नु पर्ने बताएका छन् ।
‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ, माओवाद जनयुद्ध शब्द प्रयोग गरियो भने जातै जाला जस्तो गर्नुहुन्छ, जबकी संविधान सभाबाट माओवादी जनयुद्ध भनिएर लेखिएको छ,’ प्रचण्डले भने, ‘संविधान सभामा लेखिएको कुरा भन्न किन डराउनु हुन्छ ?’
यस्तै, प्रचण्डले देशमा भएको आन्दोलनमध्ये माओवादी जनयुद्धको विषयमा विशेष चर्चा गरेका थिए । उनले जनयुद्धको वैचारिक इमानले गर्दा शान्ति प्रक्रिया पूरा हुन पुगेको उल्लेख गरे ।
प्रचण्डले निकै जाेखिम माेलेर शान्ति प्रक्रियालाइ अगाडि बढाएकाे बताए । हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको समेत प्रचण्डले बताएका छन् ।
‘मैले रातारात ! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्यो, सेना समायोजन हुन पर्यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो,’ उनले भने, ‘एउटामात्रै क्षति मैले र मैले नेतृत्व गरेको पार्टीले ब्यहोर्नुपर्यो, सेना समायोजन, हतियार व्यवस्थापनको नेतृत्व गरेबापत मेरो पार्टी विभाजित भयो। निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो तर देश बँच्यो।’
प्रचण्डले देशमा अहिलेको सरकारले सुशासनको काम रोकिन सक्ने आशंका व्यक्त गरेका थिए । यस क्रममा उनले दुई दलीय व्यवस्था गरेर देशमा कस्तो राजनीति व्यवस्था खोजेको भन्दै प्रश्न गरेका थिए ।