काठमाडौं । सङ्क्रमण कालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।
सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
यस क्रममा उनले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका थिए । ‘सबैले एक स्वरमा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गर्नु भएको छ, यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ,’ उनले भने, ‘यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पुर्याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।’
बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् । आजको बैठकमा दलहरूका शीर्ष नेताहरूले बैठकलाई सम्बोधन गरेका थिए ।