काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ । यसअघिका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बैठक सम्पन्न गर्ने तयारी भएको उनले बताए ।
“सबैजसो नेताहरुले बोलिसक्नुभएको छ, बोलिसकेका नेताहरुले दोहोर्याएर बोल्ने कुरा भएन”, पोखरेलले भनेका छन्, “आज सबैले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिनुहुन्छ । अन्य विषय नउठेमा बैठक आज सक्ने कुरा छ ।”
बैठकमा छलफल भएपनि कुनै निर्णय भने नहुने उनले बताएका छन् । यद्यपि, बैठकले बाँकी छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना छ ।
जारी बैठकमा विशेषगरी उपमहासचिव जनार्दन शर्माले पार्टीको नीति र नेतृत्व फेर्ने विषयलाई प्रवेश गराएका छन् । जुन प्रस्तावलाई लिएर नेताहरु विभाजित देखिन्छन् । जसबारे केन्द्रीय समितिमा छलफल गर्ने गरी स्थायी समितिले निर्णय लिने सम्भावना भएको पोखरेलले बताए ।